सिन्धुली । तीनपाटन गाउँपालिका वडा नं. ३ राम्चे कोलबोटेकी ५३ वर्षिय टंकमाया बुढाथोकीको हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
टंकमायाका भतिज तीनपाटन गाउँपालिका वडा नं. ३ राम्चेका ३० वर्षिय दिपक भन्ने शान्ति बहादुर बुढाथोकी र छिमेकी २९ वर्षिय सम्पत भन्ने चुक्त बहादुर कटुवाल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
उनीहरुलाई मंगलबार पक्राउ गरिएको र बुधबार सिन्धुली जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सुर्यप्रकाश सुवेदीले बताएका छन् ।
टंकमायाको शव १४ दिनमा सोमबार घरबाट करीब साढे तीन किलोमिटर उत्तरतर्फ दाह्रेगौंडा मुनीको बाँसको झ्याङमा भेटिएको थियो । मंगलबार सिन्धुली अस्पतालमा पोष्टमार्टमपछि गडौली खोलामा उनको शवको दाहसंस्कार गरिएको थियो ।
टंकमाया शंकास्पद तरिकाले पुस ८ गते घरबाट हराएपछि उनको खोजी भएको थियो । प्रहरी, स्थानीय, आफन्त तथा जनप्रतिनिधिहरुले संयुक्त रुपमा खोजी गरेका थिए ।




















