सिन्धुली । सिन्धुली अस्पतालमा उपचारका लागि आउने विपन्न नागरिकहरुलाई स्वास्थ्य उपचारमा सहयोग गर्ने गरि विपन्न नागरिक उपचार कोष स्थापना गर्न सिन्धुली महोत्सव २०८२ आयोजना गरिने भएको छ । माघ ९ गतेदेखि १९ गतेसम्म सिन्धुलीमाढीको खुल्लामञ्चमा महोत्सवको आयोजना गरिने भएको हो ।
महोत्सवको टिकटबाट उठेको रकम र सहयोगदाताहरुबाट संकलित रकमबाट उद्योग वाणिज्य संघमा रहने गरि कोष स्थापना गरिने भएको बुधबार सिन्धुली उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको छ । कोष सञ्चालनका लागि कार्यविधि समेत निर्माण भईसकेको संघले जनाएको छ ।
पचास लाखसम्मकोे कोष स्थापना गर्ने उद्योग वाणिज्य संघले जनाएको छ । वडाबाट सिफारिस भई सिन्धुली अस्पतालमा उपचारका लागि आएका विपन्न नागरिकलाई सिन्धुली अस्पतालको सिफारिसमा प्रति विरामी ५ हजारसम्म सहयोग गर्ने गरि कोष सञ्चालनको कार्यविधि निर्माण भएको सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले पत्रकार सम्मेलनमा बताए ।
सिन्धुली महोत्सव २०८२ को पहिचान, सम्मुनत र समृद्ध सिन्धुली हाम्रो पहिचान भन्ने नाराका साथ आयोजना हुने महोत्सवको दुई लाख दर्शकले अवलोकन गर्ने अनुमान आयोजकको रहेको छ ।
सिन्धुली उद्योग वाणिज्य संघ, सिन्धुली र कमलामाई नगरपालिकाको कार्यालय, सिन्धुलीको संयुक्त आयोजनामा गर्न लागिएको उक्त महोत्सवमा २७ लाख नाफा हुने संघको अनुमान रहेको छ । महोत्सवमा १ करोड १९ लाख ४५ हजार आम्दानी हुने र ९१ लाख ५५ हजार खर्च हुने अनुमान संघको रहेको छ ।
सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठले महोत्सवमा स्थानीय कला, संस्कृति, स्थानीय उत्पादनलाई प्राथमिकतामा राखिने बताएका छन् । लगानीमैत्री वातावरण बनाउन, औद्योगिक क्षेत्रको पहिचान गर्न, कृषि व्यवसायमा आधुनिक प्रविधि भित्राउन र पर्यटकीय तथा धार्मिक स्थलहरुको प्रचारप्रसार गर्नका लागि महोत्सव महत्वपूर्ण हुने श्रेष्ठले पत्रकार सम्मेलनमा बताए ।
महोत्सवमा ३ सय बढी स्टलहरु रहनेछन् । बाल उद्यान, व्यापार, जातिय विविधता र झाँकीहरुको प्रदर्शनीहरु, सांस्कृतिक कार्यक्रमहरु, ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती, विभिन्न सांस्कृतिक प्रतियोगिताहरु, सर्कसहरु, लोपोन्मुख खैजडी भजन, रत्यौली लगाएतका प्रतियोगिताहरु महोत्सवका आकर्षण रहने अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।
महोत्सवमा सुरक्षा चुनौती कम गर्न सुरक्षाको उचित प्रवन्ध गरिने, विद्युत तथा शौचालयको प्रवन्ध गरिने, एम्बुलेन्स तथा प्राथमिक स्वास्थ्य केन्दहरुको व्यवस्था, सिसि क्यामेराको व्यवस्था तथा फ्रिवाईफाईको समेत व्यवस्था गरिने आयोजकले जनाएको छ ।
महोत्सवमा टिकटको दर समेत निर्धारण गरिएको छ । ६० रुपैंया प्रतिव्यक्ति टिकट कायम गरिएको छ । जेष्ठ नागरिक र पूर्ण अपांगता भएका व्यक्तिहरुले परिचयपत्र भएमा निःशुल्क महोत्सव हेर्न पाउनेछन् । उद्योग वाणिज्य संघका सदस्यहरुले निःशुल्क प्रवेश पाउनेछन् । यस्तै विद्यार्थी र एकल महिलाहरुलाई परिचयपत्र भएमा ४० रुपैंयामा टिकट लिन पाउनेछन् ।





















