सिन्धुली । जुनारको राजधानी गोलञ्जोरको तीनकन्या माझकुभिण्डेमा मंगलबारदेखि जुनार प्रवद्र्धन मेला सुरु भएको छ । जुनार सुन्तला पहेंलपुर पाकेको सिजनमा जुनार उत्पादनको राजधानी भनेर चिनिने गोलन्जोर गाउँपालिका वडा नं. ४ तिनकन्या (माझकुभिण्डे) मा महोत्सव सुरु भएको हो ।
‘बगैंचामै आउनुहोस, जुनारको स्वाद लिनुहोस्’ भन्ने अवधारणा सहित लटरम्म जुनार पाकेको बगैंचा स्थलमै मेलाको आयोजना गरिएको छ । जिल्लाको उत्पादनको ६० प्रतिशत बढी जुनार महोत्सव क्षेत्र आसपासमा उत्पादन हुने गरेको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा जुनार प्रवद्र्धन गर्ने उद्देश्यले मंसिर २३ गतेदेखि २५ गतेसम्म मेला आयोजना गरिएको छ । गोलञ्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा कृषि विकास कार्यालय सिन्धुली, कृषि तथा पशुपंक्षी मन्त्रालय बागमती प्रदेश, उद्योग तथा वाणिज्य कार्यालय सिन्धुली, कृषि विकास कार्यालय सिन्धुली, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सिन्धुली, पूर्वाधार विकास कार्यालय सिन्धुली, जुनार विकास संघ सिन्धुली, जुनार सहकारी संघ सिन्धुली लगाएतका संघसंस्थाहरुको सहकार्यमा मेलाको आयोजना गरिएको हो ।
जुनारलाई प्रवद्र्धन गरि स्थानीय अर्थतन्त्र सुदृढ पार्ने र युवा उद्यमशीलता प्रोत्साहन गर्नका लागि मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ । मेलाको उद्घाटन बागमती प्रदेशका कृषि मन्त्री मधुसुदन पौडेलले गरेका छन् ।
गाउँपालिकाले मेलामा ९ हजार बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने आँकलन गरिएको जनाएको छ । जुनारको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको जुनार मेलाले जुनार विकास र विस्तारमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिईएको गाउँपालिका अध्यक्ष शंकर बरालले बताएका छन् ।
मेलामा १६ लाख ५० हजार रुपैंया खर्च लाग्ने अनुमान गरिएको छ । जुनार मेलामा जुनार बगैंचाको अवलोकन, जुनार नर्सरीहरुको अवलोकन गर्ने व्यवस्था मिलाईएको छ । जुनारका परिकारहरुको स्वाद लिन पाईने छ । मेला स्थलमा अन्य स्थानीय कृषि उत्पादनलाई समेत प्रदर्शनीमा राखिएको छ । यस्तै गाउँपालिका भित्रका अन्य उत्पादनहरुलाई समेत स्टलमा विक्री र प्रदर्शनीका लागि राखिएको छ ।
मेलामा विभिन्न जातजातीको पहिचान झल्कने पोशाक, झाँकीहरु समेत प्रदर्शन गरिएको छ । जुनार प्रवद्र्धन मेलामा मनोरञ्जनका लागि स्थानीय तथा राष्ट्रिय कलाकारहरु, कलाघर सिन्धुलीको सांगितिक प्रस्तुति तीन दिनसम्म नै रहनेछ ।
पर्यटकहरुले जुनारको बगैंचामै आफै जुनार टिपेर खाने सुविधा छ । यसले कृषि पर्यटनलाई समेत प्रवद्र्धन गर्ने आयोजकको दावी रहेको छ । यो मेलामा कृषकहरुलाई प्राविधिक तथा विज्ञहरुसँग वार्तालापको समेत व्यवस्था मिलाईएको छ ।
जुनार मेलाले स्थानीय तह तथा कृषि क्षेत्रमा क्रियाशील निकायका प्रतिनिधिहरूले सिन्धुलीको पहिचान नै बनेको जुनार उत्पादनलाई थप गुणस्तरीय र व्यवसायीक बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिईएको अध्यक्ष बरालले बताएका छन् ।
मेलाबाट जुनारको व्यवसायीकरण, जुनारमा देखा परेका रोग तथा किराको नियन्त्रणका लागि पनि सहयोग पुग्ने र बोटमै पुगेर जुनारको स्वाद लिने, प्रचारप्रसार गर्ने काममा सघाउ पुग्ने समेत उनले बताएका छन् ।
मेलाले जुनारको उत्पादन मूल्य, बजार पहुँच र अनुकूल नीतिका लागि किसान, स्थानीय तह र नीजि क्षेत्रबीच समन्वय बढाउने छ । मेलामा जुनारको बगैंचा, जुनार नर्सरी अवलोकन गराउनुका साथै जुनारका परिकार समेत खुवाईने छ ।
जहाँ साठी प्रतिशत जुनार फल्छ
गोलञ्जोर गाउँपालिका जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने क्षेत्र हो । यहाँ ९ हजार १२१ मेट्रिकटन जुनार उत्पादन हुन्छ । जसमध्ये बजार जान सक्ने जुनार उत्पादन ६ हजार २१८ मेट्रिकटन जुनार रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका भित्र २ हजार ७ सय ५० जना कृषकहरु जुनार उत्पादन र प्रवद्र्धनमा जोडिएका छन् । गोलञ्जोर गाउँपालिकाका ७ वटै वडामा जुनार उत्पादन हुन्छ तर वडा नं. ४ का माझकुभिण्डे, मालिङ्गे, आलेगाउँ, डाँडागाउँमा जुनार उत्पादन अत्यधिक हुने गरेको छ ।
कृषि विकास कार्यालय सिन्धुलीका सूचना अधिकारी उमा श्रेष्ठका अनुसार जिल्लामा जम्मा १० हजार २ सय ८ मेट्रिक टन जुनार उत्पादन हुन्छ । त्यो मध्ये ६० प्रतिशत जुनार गोलञ्जोर गाउँपालिकामा मात्र हुने गरेको छ । जुनार बगैंचामा यसको औसत मुल्य ५५ रुपैंया केजी रहेको छ ।
गोलञ्जोर गाउँपालिकामा मात्र जुनारबाट चौतिस करोड १९ लाख ९० हजार रुपैंया आम्दानी हुने गरेको गाउँपालिकाको तथ्यांक छ । यो क्षेत्रलाई जुनारको खानीका रुपमा चिनिन्छ । यो क्षेत्रको नगदेबाली हो जुनार जसले जिल्लालाई नै जुनारको जिल्लाका रुपमा पहिचान दिएको छ ।





















