सिन्धुली । नेकपा एमालेले एक लाख युवा एकै पटक परिचालन गर्ने गरि युथ भोलेन्टिर फोर्स तयार गर्ने भएको छ । मंसिर ५ गते काठमान्डौको माईतिघरमा उक्त फोर्सको औपचारिक घोषणा गरिनेछ ।
सो दिन पाँच हजार युवाहरु काठमान्डौमा उतारेर युथ भोलेन्टिर फोर्स घोषणा गर्ने तयारी गरेको नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जानकारी दिएका छन् । नेकपा एमाले सिन्धुलीले सिन्धुलीमाढीमा शनिबार आयोजना गरेको प्रतिगामी षड्यन्त्र विरुद्ध लोकतन्त्र, संविधान र संसद पुनस्र्थापनाको ¥याली पछिको आमसभालाई सम्बोधन गर्दै उनले यस्तो जानकारी दिएका हुन ।
देश र जनताको लागि आवश्यक परेका बेला एक लाख युवाहरु एकैपटक परिचालन गर्न सक्ने गरि युथ भोलेन्टिर फोर्स घोषणा गर्ने तयारी भईरहेको उनले बताए ।
‘कम्युनिष्ट पार्टीले आवश्यक परेको बेला युवाहरु निकाल्न सकिएन भने सिंहदरवार बच्दो रहेनछ, संसद भवन बच्दो रहेनछ, राष्ट्रिय सम्पत्ती बच्दो रहेनछ, पार्टी कार्यालय बच्दो रहेनछ, व्यक्तिका घर बच्दोरहेनछ, औधोगिक प्रतिष्ठानहरु बच्दा रहेनछन् त्यसैले अप्ठ्यारोमा परिचालित हुन सक्ने गरि दस्ता तयार गर्दैछौं’ बस्नेतले भने ।
युथ भोलेन्टिएर फोर्सको संयोजक सिन्धुलीका पुष्प श्रेष्ठको संयोजकत्वमा बन्ने उनले जानकारी दिएका छन् । मंसिर ५ गते पाँच हजार युवाहरुको मार्चपास सहित गर्नेछन् । युथ भोलेन्टिर फोर्सको प्रदेश तहमा युनिफाईड फोर्स, जिल्ला तहमा कोर्डिनेशन फोर्स र पालिका, वडा र टोलमा एक्टिभ कमाण्ड फोर्न हुने छ ।
‘एमालेले अब कहिले सिंहदरवार, संसद भवन, सार्वजनिक सम्पत्ति, व्यक्तिगत सम्पतिहरु, उद्योग धन्दा, पार्टी कायालय, व्यक्तिगत घर जल्न दिने छैन,’ उनले भने ।
बस्नेतले नवयुवाहरुलाई प्राविधिक पुस्ताका रुपमा व्याख्या गर्दै उनीहरुका लागि युथ डिजिटल फोर्स समेत बनाउनले बताए । सबै जनसंगठनका नवयुवालाई परिचालन गर्ने गरि यो दस्ता समेत तयार हुनेछ । यी दुवै संयन्त्रले सामाजिक न्याय, प्राकृतिक विपत्ति, श्रमदान, विरामीहरुको सेवामा लगाएतका काममा खट्ने छ ।





















