सिन्धुली । जिल्लामा शुक्रबार खैरो हिरोईन सहित दुई जना पक्राउ परेका छन् । कमलामाई नगरपालिका वडा नं. ९ भिमानमा रहेको चेकपोष्टमा विराटनगरबाट काठमान्डौ जाँदै गरेको बा५ख७२६ हायस चेकजाँच गर्ने क्रममा खैरो हिरोईन सहित दुई जनालाई पक्राउ गरेको हो ।
लागु औषध नियन्त्रण व्युरो शाखा बर्दिबास र इलाका प्रहरी कार्यालय भिमानको टोलीले १५ दशमलब ८३० ग्राम खैरो हिरोईन सहित काठमान्डौ महानगरपालिका १६ का ३० वर्षिय असिम थापा र २७ वर्षिय सविन मगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय भिमानमा राखि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सुबेदीले बताएका छन् ।





















