सिन्धुली । जिल्लामा अपराधिक घटनामा वृद्धि भएको छ । विगतका २ वर्षको तुलनामा आर्थिक वर्ष २०८१/०८२ मुद्दा दर्ता बढेको हो । जिल्लामा आर्थिक वर्ष २०७९/८० मा प्रहरीमा ३ सय ८६ मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष २०८०/०८१ मा ३ सय ३८ मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष २०८१/०८२ मा मुद्दा दर्ता हुने संख्या बढेर ४ सय २४ पुगेको छ । आर्थिक वर्ष २०८०/०८१ को तुलनामा आर्थिक वर्ष २०८१/०८२ मा ८६ वटा मुद्दा बढी दर्ता भएका छन ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्यांकमा मुद्दा दर्ता बढ्दो देखिए पनि फस्र्याैट भने सन्तोषजनक छैन । अझ भन्नुपर्दा घट्दो अवस्थामा देखिन्छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्य प्रकाश सुवेदीका अनुसार जिल्लामा मुद्दा फस्र्यौट आर्थिक वर्ष २०७९/८० मा ३ सय ८३ मुद्दा फस्र्याैट भएका थिए ।
आर्थिक वर्ष २०८०/८१ मा २ सय १४ मुद्दा फस्र्यौट भए भने आर्थिक वर्ष २०८१/८२ मा २ सय २४ मुद्दा फस्र्याैट भएका छन । मुद्दा दर्ताको तुलनामा फस्र्यौटको अवस्था घट्दै गएको देखिन्छ ।
डिएसपी सुवेदीले तीन वर्षमा मुद्दा फस्र्याैटको क्रम घट्दै गएको बताए । उनका अनुसार तीन वर्षमा क्रमशः ९९ प्रतिशत, ६३ दशमलब ३१ प्रतिशत र ५२ दशमलब ८३ प्रतिशत मुद्दा फस्र्याैट भएका छन ।
सुवेदीले आत्महत्या र भवितव्यका घटना बढीरहेकाले विगत दुई वर्षमा मुद्दा फस्र्यौटकको अवस्था कम देखिएको बताए । जिल्लामा विगत वर्षको तुलनामा आर्थिक वर्ष २०८१/८२ मा हत्या, बलत्कार, लागु औषध, सवारी दुर्घटना लगाएतका मुद्दाहरु बढेका छन ।





















