सिन्धुली । जिल्लामा प्रथम राष्ट्रिय कोदो दिवस २०८२ विभिन्न कार्यक्रम गरि विभिन्न ठाउँमा मनाईएको छ । रैथाने अन्नबाली बाली कोदोको प्रवद्र्धनका लागि सिन्धुलीका विभिन्न ठाउँमा कोदो दिवस मनाईएको हो ।
कोदो दिवसका अवसरमा ‘कोदोजन्य परिकारको आहार ः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने मूल नारा सहित सदरमुकाम सिन्धुलीमाढीमा प्रभातफेरी तथा कोदोजन्य परिकारको सेवन कार्यक्रमको गरिएको छ । कृषि विकास कार्यालय सिन्धुलीको प्रवद्र्धन तथा सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुलीको आयोजनामा सिन्धुलीमाढीमा ¥याली गरिएको छ भने अन्तक्र्रिया कार्यक्रम समेत गरिएको छ ।
सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठको अध्यक्षता एवम् जिल्ला समन्वय समिति सिन्धुलीका उपप्रमुख शान्ता कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्कीले कोदो खेतीको प्रवद्र्धन गर्न बिउ बिजन, मल र आधुनिक कृषि उपकरणमा सहुलियत दिई किसानलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिईन । उनले कोदो उत्पादन गर्ने किसानलाई हेपेका कारण र कोदोलाई कुअन्न भनेका कारण उत्पादन घटेको समेत बताईन ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले स्वास्थ्यका लागि आवश्यक गुण भएको कोदोलाई वेवास्ता गरेको बताएका छन । उनले कोदोको प्रवद्र्धन गर्ने सरकारी प्रयास सह्रानिय रहेको समेत बताए । स्वस्थ जीवनका कोदोको महत्व रहेको उनले बताए ।
कार्यक्रममा कृषि विकास कार्यालय सिन्धुलीका प्रमुख अनुप अधिकारीले सिन्धुलीमा कोदो खेती १० हजार ८ सय ४२ हेक्टरमा हुँदै आएको र वार्षिक उत्पादन ११ हजार ७४ मेट्रिक्टन हुने गरेको जानकारी दिएका छन । कोदो जिल्लाका पहाडी र सुख्खा क्षेत्रमा उत्पादन हुँदै आएको समेत बताएका छन । जिल्लाका घ्याङ्लेक, फिक्कल, गोलन्जोर, सुनकोशी गाउँपालिका, कमलामाई नगरपालिका र दुधौली नगरपालिकामा कोदो खेती हुँदै आएको उनले बताए ।
जिल्लाको महाभारत क्षेत्रमा किसानले खाली पाखामा र जुनार, सुन्तलाको बगैँचाभित्र समेत कोदो खेती गरी आम्दानी लिईरहेका छन ।
यस्तै गोलञ्जोर गाउँपालिकाले पनि कोदो दिवस मनाएको छ । कोदो दिवसमा आयोजित कार्यक्रममा गाउँपालिकाले कोदो उत्पादन बढाउन लगानी गर्ने समेत सो अवसरमा प्रतिवद्धता व्यक्त गरेको छ ।





















