सिन्धुली । जिल्लामा आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको भवन निर्माण हुने भएको छ । जसका लागि बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले भवनको डिपिआर पास गरि निर्माणको अख्तियारी समेत दिई सकेको छ ।
कमलामाई नगरपालिका वडा नं. ७ को बुद्धनगरमा भवन निर्माण गर्ने गरि डिपिआर तयार गरिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुलीका कार्यालय प्रमुख दिपक तिमल्सिनाले बताएका छन ।
भवन निर्माणको डिपिआरमा उक्त भवन निर्माणका लागि १९ करोड ९७ लाख ५२ हजार ६ सय १० रुपैंया लागत लाग्ने अनुमान गरिएको छ । डिपिआर सचिव स्तरीय निर्णयबाट स्वीकृत भएको हो । डिपिआर निर्माणको काम प्लानीभर्स इन्जिनियरिङ कन्सल्टेन्टको परामर्शमा गरिएको थियो ।
स्वास्थ्यमन्त्री किरण थापा र स्वास्थ्य सचिव सुमित्रा गौतमको विशेष पहलमा उक्त भवनको डिपिआर सम्पन्न गरि बजेट समेत विनियोजन गरिएको छ । बागमती प्रदेशका अन्य भवन सहितका लागि बजेट एकमुष्ट राखिएकाले सिन्धुलीको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको बजेट कति भन्ने एकीन हुन भने बाँकी छ ।
आगामी आर्थिक वर्षमा निर्माण सुरु हुने गरि चालु आर्थिक वर्षमा डिपिआर स्वीकृत भएको तिमल्सिनाले जानकारी दिए । स्वास्थ्य मन्त्रालयले २०८२ असार २५ गते भवन निर्माणको डिपिआर र विईएस स्वीकृत गरेको छ ।
आयुर्वेद स्वास्थ्य सेवामा जिल्लामा सेवाग्राही बढ्दै गएपछि सुविधा सम्पन्न आयुर्वेद अस्पताल निर्माणका लागि पहल भएको थियो । हाल जिल्लामा ४५ हजार बढीले बार्षिक स्वास्थ्य सेवा लिईरहेका छन । नयाँ भवन निर्माण पछि आयुर्वेद स्वास्थ्यको विस्तारित सेवा सञ्चालन हुने छ ।
बहिरंग सेवा, अन्तरंग सेवा, आपतकालिन सेवा, ल्याव सेवा, फिजियोथेरापी, अंकुपंचर, पञ्चकर्म सेवा लगाएतका सेवाहरुलाई व्यवस्थित गरि सञ्चालन गरिने छ । जसलाई रिफरल सेन्टरका रुपमा जोड्ने लक्ष्य कार्यालयको छ । उक्त भवन तीनतलाको निर्माण हुनेछ भने ३० वटा कोठाको निर्माण गरिने छ । भवन निर्माणपछि दुईवटा भवनबाट दिईरहेको सेवा एकीकृत हुने पनि तिमल्सिनाले बताएका छन ।





















