सिन्धुली । जिल्लामा प्रत्येक महिना एक जना २८ दिन भित्रका नवजात शिशुको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीले मंगलबार पत्रकारहरुसँग गरेको अन्तक्र्रिया कार्यक्रममा कार्यालयका सूचना अधिकारी पुष्पराज पन्तले जिल्लामा एघार महिनामा ११ जना नवजात शिशुको मृत्यु भएको बताएका हुन ।
उनका अनुसार यो अवधिमा २ जना सुत्केरी आमाले पनि सुत्केरी हुन नसकेर ज्यान गुमाएका छन । जिल्लामा २६ प्रतिशत महिलाहरु अहिले पनि घरमै सुत्केरी हुने गरेको तथ्यांक कार्यालयको छ । जसका कारण पनि आमा र शिशुमा ज्यानको जोखिममा रहेको पन्तले बताए ।
उनले जिल्लामा अशिक्षा, धर्म, संस्कारका कारण बालबालिकाको खोप, स्वास्थ्य सेवा नलिने र ज्यान गुमाउने गरेको पाईएको बताएका छन । धर्मका नाममा जिल्लाका तिनपाटन, दुधौली, फिक्कल, घ्याङलेख लगाएतका पालिकाका केहि ठाउँमा खोप अभियान सञ्चालन गर्न समेत समस्या सृजना भएको बताउँदै स्थानीय तहहरुले घरमा सुत्केरी गराउने दर घटाउने अभियानहरु चलाए पनि पूर्ण हुन नसकेको बताए ।
कार्यक्रममा जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख बिमल पटेलले कार्यालयले सञ्चालन गरेका कार्यक्रम, त्यसको प्रगति लगाएतका विषयमा प्रस्तुतिकरण गरेका थिए । पटेलले कार्यक्रममा जनस्वास्थ्य कार्यालयको प्रमुख काम कर्तव्यहरु, अनुगमन सुुपरिवेक्षण, क्षमता अभिवृद्धि, स्वास्थ्य कार्यक्रमको कार्यान्वयन तथा समिक्षा, स्वास्थ्य अभियान व्यवस्थापन, स्वास्थ्य दिवस, स्क्रिनिङ, नियमन तथा गुणस्तर सुधार, पहुँच र उपभोगमा वृद्धिको योजना, खानेपानी सरसफाई वातावरण, जनस्वास्थ्य निगरानी, बहुक्षेत्रीय समन्वयका बारेमा जानकारी गराएका थिए ।
उनले बागमती प्रदेशले मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम, विद्यालय नर्स कार्यक्रम, स्वास्थ्य आपतकालिन योजना निर्माण, मेरो स्वास्थ्य मेरो जिम्मेवारी अभियान, स्थायी बासिन्दाको लागि रक्त सञ्चार सेवा निःशुल्क, अति सिमान्तकृत एवं लोपोन्मुख जातीलाई सुत्केरी र बच्चालाई पूर्ण खोप लगााएका आमालाई ५ हजार उत्प्रेरणा खर्च, आत्महत्या रोकथाम तथा न्युनीकरणको उपाय, पोषण प्रवद्र्धन अभियान, सडक दुर्घटना तथा न्युनीकरण कार्यक्रम, मदिराजन्य सचेतना तथा सुर्तिजन्य पदार्थको नियन्त्रण र नियमन ,जनसङ्या तथा बसाई सराई सम्बन्धि कार्यक्रम, कलकारखाना अथवा अन्य पेशाामा काम गर्ने श्रमिकहरुको लागि व्यवसायजन्य स्वास्थ्य सुरक्षा सम्बन्धि अभिमुखीकरण लगाएतका कार्यक्रम सञ्चालन गरेको बताए ।
पटेलले आर्थिक वर्ष २०८१÷८२ मा भौतिकतर्फ ६० प्रतिशत र वितिय प्रगतितर्फ ५१ दशमलव ४ प्रतिशत बजेट सकिएको समेत जानकारी गराए । आगाामी आर्थिक वर्षमा मेरो स्वास्थ्य मेरो जिम्मोरी एक घण्टा मेरा लागि, स्थानीय तहको समन्वयमा आधारभुत अस्पताललाई स्पोक अस्पतालका रुपमा विकास तथा संचालन, विद्यालयमा आँखा, दाँत, ब्लड ग्रुप, मुटु तथा वाथ रोग परिक्षण, एक स्थानीय तह एक नमुना स्वास्थ्य संस्था, सामुदायिक स्वास्थ्य स्वयाम सेवक परिचालन तथा व्यवस्थापन कार्यक्रम ल्याइने बताए ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बाग्मती प्रदेशका उपाध्यक्ष बिमला पाण्डेले हरेक व्यक्तिसँग जोडिएको स्वास्थ्यका सवालमा सञ्चार क्षेत्रले सहकार्य गर्दै आएको बताईन । उनले जनस्वास्थ्य सबैको चासो भएकाले सञ्चारसँगको सहकार्य जरुरी रहेको बताईन । उनले पत्रकारहरुको शारीरिक र मानसिक स्वास्थ्य सुधारमा समेत सहकार्य गर्न जनस्वास्थ्य कार्यालयलाई आग्रह गरिन ।
नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष बाबुराम देवकोटाले स्वास्थ्यका सवालमा सचेतना जगाउन सञ्चारकर्मीहरु जिम्मेवार रहेकाले सहकार्य गर्न आग्रह गरे ।




















