सिन्धुली । सिन्धुलकिा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले लागु औषध नियन्त्रण र विपद व्यवस्थापन जिल्लामा मुख्य चुनौती रहेको पाईएको बताए । विहिबारदेखि सिन्धुलीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका भुसालले मंगलबार पत्रकारहरुसँग परिचयात्मक कार्यक्रम गर्दै यस्तो बताएका हुन ।
जिल्लामा रहेका तीन वटा मुख्य राजमार्गहरु विपी राजमार्ग, मदनभण्डारी राजमार्ग र मध्यपहाडी लोकमार्गबाट हुने लागुऔषध ओसार पसार र प्रयोगलाई नियन्त्रण गर्नका लागि चेन व्रेक गर्नुपर्ने आवश्यकता रहेको बताएका छन ।
उनले वर्षाका कारण आउने विपदको पनि जिल्ला उच्च जोखिममा रहेको बताउँदै विपद व्यवस्थापन चुनौतीपूर्ण रहेको बताए । उनले चुरे र महाभारतको बीचमा रहेको जिल्लामा जुनसुकै बेला बाढी पहिरो जान सक्ने बताउँदै पूर्व तयारी व्यापक बनाउनु आवश्यकता रहेको बताए ।
कार्यक्रममा बोल्दै उनले जिल्लामा रहेका कार्यालयहरुको सूचना प्रणालीलाई व्यवस्थित गर्ने, पत्रकार र नागरिकले सहजै सूचना प्राप्त गर्न सक्ने वातावरण बनाउने, सेवा प्रवाहलाई व्यवस्थित र नागरिकमैत्री बनाउने समेत बताएका छन । उनले मिडियासँगको सम्बन्ध खुला रहने र मिडियाका सुझावलाई आत्मसात गरिने बताए ।
कार्यक्रममा पत्रकारहरुले जिल्लाका अवैध क्रसर नियन्त्रण गर्नुपर्ने, तस्करीको ट्रान्जित प्वाइन्टका रुपमा जिल्ला रहेकाले ध्यान दिनुपर्ने, नागरिकतामा आमाको नाम राख्न भईरहेको असहजतालाई सहजता बनाउनुपर्ने, लैंगिक हिंसा पीडितको अनुसन्धानमा पीडित मैत्री वातावरण बनाउनुपर्ने, कार्यालयका सूचना प्रणालीहरु सहज बनाईनुपर्ने, सूचना अधिकारीहरुबाट सूचना पाउने वातावरण बनाउनुपर्ने, सरकारी गाडीको दुरुपयोग भईरहेकाले सोको निगरानी बढ्नुपर्ने, भारतीय गाडीहरुमा निगरानी बढाईनुपर्ने लगाएतका विषयमा पत्रकारहरुले सुझाव दिएका थिए ।




















