सिन्धुली । जिल्लामा असार १५ सम्म २० प्रतिशत किसानले धान रोपेका छन । जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जिल्लामा बीस प्रतिशतको हाराहारीमा धान रोपाईं सकिएको भएको आँकलन गरेको जनाएको छ ।
कृषि विकास कार्यालय सिन्धुलीका बाली संरक्षण अधिकृत एवम् सूचना अधिकारी शुशिल श्रेष्ठका अनुसार किसानहरुले व्याड तयार गर्ने, रोपाईंका लागि खेत तयार गर्ने काम गरिरहेकाले अबको एक हप्तामा धान रोपार्इं पचास प्रतिशत नाघ्ने अनुमान गरिएको बताए ।
उनका अनुसार जिल्लाका तीन वटा पालिकामा धान रोपाईं अन्य पालिकामा भन्दा बढी भएको छ । दुधौलीमा २० प्रतिशत रोपाईं सकिएको तथ्यांक छ । यस्तै सुनकोशी गाउँपालिकामा ४० प्रतिशत रोपाईं सकिएको छ भने फिक्कल गाउँपालिकामा १८ प्रतिशत रोपार्ईं सकिएको श्रेष्ठले बताए ।
सबैभन्दा कम हरिहरपुरगढी गाउँपालिकामा रोपाईं सकिएको छ । हरिहरपुरगढीमा ३ प्रतिशत मात्र रोपाईं भएको छ । श्रेष्ठका अनुसार जिल्लाका अन्य पालिकामा कति रोपाईं सकियो भन्ने एकीन तथ्यांक कार्यालयमा आएको छैन ।
जिल्लामा भर्खर पानी पर्न थालेको र धेरै धान उत्पादन हुने खेत आकाशे पानीको भरमा रहेकाले पनि रोपाईं ढिला भएको श्रेष्ठले बताएका छन । यस्तै कतिपय खेतको सिंचाई कुलोबाट हुने र पालो पर्खिनुपर्ने भएकाले पनि रोपाईं ढिलो भएको उनले बताए । जिल्लामा साढे १३ हजार हेक्टर खेतमा धान रोपाईं हुने गरेको छ ।





















