सिन्धुली । मरिण गाउँपालिका बागमती प्रदेशमा नै पान उत्कृष्ट गाउँपालिका पुरस्कार २०८२ प्राप्त गर्ने पहिलो पालिका बनेको छ । शिक्षा क्षेत्रमा देखिएको सक्रिय नेतृत्व, नवीन कार्यशैली र गुणस्तरीय प्रगतिका आधारमा मरिण गाउँपालिका सिन्धुलीलाई प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (पान) द्वारा प्रदान गरिने “पान उत्कृष्ट गाउँपालिका पुरस्कार २०८२” प्रदान गरिएको हो ।
पोखरामा शुक्रबार आयोजित पानको दोस्रो राष्ट्रिय सम्मेलनका अवसरमा गाउँपालिकाका अध्यक्ष प्रख्यात मोक्तानले उक्त सम्मान ग्रहण गरेका छन ।
प्रा.डा. विद्यानाथ कोइरालाको अध्यक्षतामा गठित मूल्याङ्कन समितिले निर्धारण गरेका २५ शैक्षिक मापदण्डहरूका आधारमा देशभरका गाउँपालिकाहरूको अध्ययन र विश्लेषण गर्दा मरिण गाउँपालिका बागमती प्रदेशको उत्कृष्ट गाउँपालिकाको रूपमा चयन भएको थियो ।
विद्यालय व्यवस्थापनमा पारदर्शिता, शैक्षिक गुणस्तर सुधार, नवप्रवर्तनशील कार्यक्रमहरू र नेतृत्व विकासको पहललाई संस्थागत रूपमा मान्यता दिदैं उक्त सम्मानमा गाउँपालिका चयन गरिएको थियो । सम्मान ग्रहणपछि गाउँपालिका अध्यक्ष मोक्तानले गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक, अविभावक र विद्यार्थी सबैलाई धन्यवाद समेत दिएका छन ।
सम्मानले आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माणका लागि थप प्रेरणा प्रदान गरेको उनले बताएका छन ।





















