सिन्धुली । सिन्धुली उद्योग बाणिज्य संघ सिन्धुलीले विपन्न नागरिक उपचार कोष स्थापना गरेको छ । संस्थाको ५७ औं स्थापना दिवसका अवसरमा शनिबार उक्त कोषको स्थापना गरिएको हो । सिन्धुली अस्पतालमा उपचारका लागि आउने विपन्न विरामीलाई सहयोग पुग्ने गरि उक्त कोष स्थापना गरिएको हो ।
कार्यक्रममा विपन्न नागरिक उपचार कोष सञ्चालन कार्यविधि २०८२ सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष सतिसचन्द्र ढकाललाई हस्तान्तरण समेत गरिएको छ । एक करोडको कोष स्थापना गर्ने लक्ष्य सहित उक्त कोषको स्थापना गरिएको र रकम संकलन कार्य भई रहेको सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन कुमार क्षेष्ठले बताए ।
जिल्लाभरका विपन्न नागरिकको उपचारमा सहयोग पु¥याउने गरि कोषको घोषणा गरिएको हो । संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठको अध्यक्षता तथा कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरेलले कमलामाई नगरपालिकाको विपन्न नागरिकका लागि उपचारमा ५० लाख बार्षिक रुपमा खर्च भई रहेको बताएका छन ।
उनले वर्षभरी बेवारिसे लाश व्यवस्थापन गर्न वार्षिक ६ देखि ७ लाख खर्च हुने गरेको बताएका छन । विपन्नका लागि नगरपालिकाको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा सिन्धुलीका पत्रकारहरु, नेपाल पत्रकार महासंघ र उद्योग बाणिज्य संघको उल्लेख्य भुमिका थियो । यसै कारण यस्ता संस्थाले चलाउने अभियानमा आफ्नो सहयोग रहने उनले बताए ।
सिन्धुलीमा निमार्ण भई सञ्चालन हुन नसकेको कोल्डस्टोर सञ्चालनको पहल गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे । उनले नसकिने भए स्थानीय तहलाई जिम्मा दिन पनि उनले आग्रह गरे । सिन्धुलीमा उठ्ने व्यवसाय करको २५ प्रतिशत रकम कमलामाई नगरपालिकाले उद्योग वाणिज्य संघलाई दिने गरेको समेत उनले बताए ।
सिन्धुली सदरमुकाम तथा कमलामाई नगरपालिका क्षेत्रका मात्र विपन्न क्यान्सर पीडित सरदर दैनिक ४ जनालाई सहयोग सिफारिस गर्नु परेको भन्दै पोखरेलले क्यान्सरको स्रोत बनिरहेको प्लाष्टिक प्रयोगलाई निरुत्साहित गरि स्थानीय रुपमा पाईने पातका दुना टपरीलाई प्रोत्साहित गर्न आग्रह गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य द्वारिका काफ्ले, सिन्धुली अस्पतालका अध्यक्ष सतिशचन्द्र ढकाल, उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख ध्रुव प्रसाद ढकाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा संघका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले संघले सञ्चालन गरेका कार्यक्रमको वारेमा प्रकाश पारेका थिए भने कार्यक्रममा वरिष्ठ उपाध्यक्ष देव कुमार श्रेष्ठले धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण महासचिव बासुप्रसाद भेटुवालले गरेका थिए ।






















