सिन्धुली । सिंचाईका लागि खोलामा बनाईएको पोखरीमा डुवेर शुक्रबार हरिहरपुरगढीमा एक बालिकाको मृत्यु भएको छ । विहान करीब एघार बजेतिर घर नजिकैको सिंचाईका लागि बनाईएको पोखरीमा पौडी खेल्न जाने क्रममा हरिहरपुरगढी गाउँपालिका वडा नं. ३ बनौलीकी ९ वर्षिय प्रतिमा राईको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
एकै घरका तीनजना बालबालिका पौडी खेल्न गएकामा एक जनाको डुवेर मृत्यु भएको हो । घरदेखि २ सय मिटर उत्तरतर्फ रहेको तिनकुना खोलामा सिंचाईको लागि बनाईएको पोखरीमा डुवेर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सुवेदीले जानकारी दिएका छन ।
उनका अनुसार बालिकाको बुवा प्रकाश राईले छोरी डुवेको देखेर उद्धार गरि मकवानपुरको बागमती गाउँपालिकामा रहेको सान्भी मेडिकलमा उपचारका लागि लगेको भए पनि उपचारका क्रममा बालिकाको मृत्यु भएको सुवेदीले बताए ।




















