सिन्धुली । विश्व वातावरण दिवस जिल्लामा विभिन्न कार्यक्रम गरि मनाईएको छ । विहिबार सिन्धुलीका विभिन्न ठाउँमा वातावरण दिवसका अवसरमा वृक्षारोपण, सरसफाई लगाएतका कार्यक्रम गरिएको हो । ‘प्लाष्टिक प्रदुषण न्युनिकरण : हाम्रो दायित्व’ भन्ने नाराका साथ मनाईएको दिवसका अवसरमा डिभिजन वन कार्यालय सिन्धुलीको आयोजना कमलामाई नगरपालिका र श्री कमला जनज्योति माध्यमिक विद्यालय सिलामेको सहकार्यमा वृक्षारोपण कार्यक्रम गरिएको छ ।
कमलामाई नगरपालिका वडा नं. ५ सिलामेको कमला जनज्योती माध्यमिक विद्यालय सिलामे परिसरमा विभिन्न जातको विरुवा रोपिएको थियो । कमलामाई नगरपालिकाका मेयर उपेन्द्र पोखरेलको प्रमुख आथित्यता र डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख राम कुमार भण्डारीको अध्यक्षमा भएको कार्यक्रममा सुरक्षाकर्मीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, शिक्षक, विद्यार्थीहरु, पत्रकारहरु लगाएतको सहभागितामा वृक्षारोपण गरिएको हो ।
छतिवन, धुपी, सुपारी, गुलमोहर, चिउरी, रुख कटहर, लिचि, पारिजात, अमला, कागती, अम्बा, निम, म्याङ्गोस्टिम लगाएतका विरुवाहरु रोपिएको थियो ।
यस्तै चुरे उत्थानशील आयोजना, प्रदेश आयोजना व्यवस्थापन इकाई, सिन्धुलीको आयोजना तथा कमला माध्यामिक विद्यालय, क.न.पा.– ८, तिनतलेको समन्वय तथा सहकार्यमा विश्व वातावरण दिवस २०२५ को अवसरमा वृक्षारोपण गरिएको आयोजनाका पदम मगरले बताए । उनका अनुसार चुरे उत्थानशिल आयोजनाका प्रमुख चुडामणी खतिवडाको नेतृत्वमा कार्यालयका कर्मचारीहरु तथा विद्यालयका शिक्षक, विद्यार्थीहरुको सहभागीतामा १५० थान बोट विरुवाहरु रोपिएको उनले बताए ।
यस्तै भगवती मावि माढी बजारका विद्यार्थीहरुले सिन्धुलीमाढीका विभिन्न सार्वजनिक स्थलहरुमा सरसफाई तथा जनचेतनामूलक कार्यक्रम गरेका छन । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीसँगको सहकार्यमा उनीहरुले कार्यक्रम गरेका हुन । यस्तै जिल्लाका स्थानीय तहहरु, विभिन्न विद्यालय तथा संघसंस्थाहरुले पनि वातावरण दिवस विभिन्न कार्यक्रम गरि मनाएका छन ।
























