सिन्धुली । खाद्य/दाना सम्बन्धि बनेको नयाँ कानुनी व्यवस्था सम्बन्धि अभिमुखीकरण विहिबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौडाले सिन्धुलीका खाद्य तथा दाना व्यवसायी तथा सरोकारवालाहरुसँग खाद्य दाना सम्बन्धि नयाँ ऐनमा भएका व्यवस्थाको विषयमा अन्तक्र्रिया गरेको हो ।
कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौडाका खाद्य अनुसन्धान अधिकृत दिनेश सुवेदीले खाद्य दाना पदार्थमा गुणस्तर तथा स्वच्छता सम्बन्धि विद्यमान प्रावधान र अबको बाटोका बारेमा सहजीकरण गरेका थिए ।
कार्यक्रममा बोल्दै होटल व्यवसायी संघ सिन्धुलीका अध्यक्ष सिताराम पहाडीले होटलको स्तरीकरण गर्दा भौगोलिक अवस्था, भौतिक संरचनालाई मात्र आधार नबनाउने गरि कानुनी व्यवस्था हुनुपर्नेमा जोड दिए । उनले सबै व्यवसायीले खाद्य स्वच्छतामा ध्यान दिन आवश्यक रहेको समेत बताए ।
उपभोक्ता संरक्षण मञ्चका केन्द्रीय सदस्य इन्द्र भुजेलले व्यवसायीहरुले खाद्य स्वच्छतामा कम ध्यान दिएको बताए । उनले खाद्य स्वच्छता कायम गर्न व्यवसायीसँगै उपभोक्ता सचेतना आवश्यक रहेको बताए ।
कार्यक्रममा युवा व्यवसायी दिपेश थापाले हाटबजार, किराना पसल लगाएत खाद्य पसलहरुमा लेवल विनाका सामग्रीहरु अत्यधिक विक्री हुने गरेको बताउँदै अनुगमन र नियमन आवश्यक रहेको बताए ।





















