सिन्धुली । ११५ औं अन्तराष्ट्रिय महिला दिवस (८ मार्च) को सन्दर्भमा सिन्धुलीमाढीमा बागमती प्रदेश स्तरीय महिला कृषि उद्यम मेला शुक्रबारबाट सुरु भएको छ । महिला कृषि उद्यम मेला आयोजक समितिले उक्त मेलाको आयोजना गरेको हो ।
शुक्रबारदेखि सुरु भएको मेला आईतबारसम्म सिन्धुलीमाढीमा चल्ने छ । उद्यमशीलतालाई प्रोत्साहन गर्ने, नवप्रवर्तनलाई उत्साहित गराउने तथा स्थानीय स्रोत साधनको स्थानीय जनशक्तिबाटै उपयोग गराउने उद्देश्यले मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ । महिला उद्यमीहरूलाई आफ्नो व्यवसाय विस्तार गर्न यस मेलाले थप प्रेरित गर्ने आयोजकले विश्वास लिएको छ । मेलामा बागमती प्रदेशका विभिन्न १३ जिल्लाका महिला उद्यमीहरुले उत्पादन गरेका सामग्रीहरुको स्टल राखिएको छ ।
कृषि उत्पादन र कृषि उद्यमलाई मेलामा प्राथमिकता दिईएको छ भने कृषि औजारहरुको समेत स्टल राखिएको छ । मेलामा ५० भन्दा बढी महिला उद्यमीहरुले आफ्ना उत्पादनलाई प्रदर्शनी तथा विक्रीका लागि राखेका छन । जसमा कृषिजन्य तथा हस्तकला सामग्रीहरु रहेका छन ।
मेलामा योगाभ्यास, बालबालिकाहरुका लागि मनोरञ्जनात्मक गतिविधिहरु, विभिन्न प्रतियोगिता, विद्यार्थीहरुको कृषिसँग सम्बन्धित चित्रकला प्रतियोगिता, रैथाने खाना, प्रविधि र सीपको प्रस्तुती, नवप्रवर्तन प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, महिलालाई उद्यममा अवसर र चुनौती विषयक छलफल, महिला नेतृत्व र उद्यमशीलता सम्बन्धी विभिन्न कार्यक्रम समेत तीनदिनसम्म चल्ने छन ।
मेलामा १० हजारभन्दा बढी व्यक्तिहरुले अवलोकन गर्ने लक्ष आयोजकको रहेको छ । उद्यमी, किसान, व्यवसायी, विद्यार्थी, सरकारी तथा गैरसरकारी प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति रहने आयोजकको विश्वास छ । मेलामा १० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।
बागमती प्रदेश सरकार, स्थानीय सरकार, कृषि विकास कार्यालय, उद्योग तथा वाणिज्य कार्यालय, सिड्स नेपाल, मुना कृषि लिमिटेड लगायत विभिन्न सरकारी–गैरसरकारी संघसंस्थाहरुको सहयोग तथा सौगात लद्यु उद्यम सहकारी संस्था, सिन्धुलीको अगुवाईमा मेला सञ्चालन गरिएको छ ।




















