सिन्धुली । जंगलबाट मदनभण्डारी राजमार्गमा निस्केको निलगाईलाई हायसले ठक्कर दिंदा बुधबार विहान निलगाईको मृत्यु भएको छ ।
कमलामाई नगरपालिका वडा नं. १४ चन्दनपुरमा धरानबाट काठमान्डौ जाँदै गरेको बा५ख५९८१ नम्बरको हायसले ठक्कर दिंदा निलगाईको मृत्यु भएको हो ।
हायसमा ठोक्किएर घाईते भएको निलगाई घटनास्थलबाट ७ सय मिटर पर जंगलमा गएर मरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेले बताए ।
निलगाई गाडीमा ठोक्किएर जंगलतर्फ भागेको हायस चालक धरान उपमहानगरपालिका १७ का पदम बहादुर विश्वकर्माले इलाका प्रहरी कार्यालय भिमानमा जानकारी गराएपछि इन्स्पेक्टर टंक बहादुर कार्कीको टोलीले निलगाईको खोजी गरेको थियो ।
मृत्यु भएको निलगाई, हायस र हायस चालक विश्वकर्मालाई आवश्यक प्रक्रिया पुरा गरि रानीबास शव डिभिजन वन कार्यालयलाई थप कारवाहिका लागि पठाईएको एसपी काफ्लेले जानकारी दिएका छन ।





















