सिन्धुली । नेपाल राष्ट्रिय कर्मचारी संगठन कमलामाईको अध्यक्षमा नविन लामिछाने निर्वाचित भएका छन । आइतबार सिन्धुलीमाढीमा सम्पन्न दोस्रो नगरपालिका स्तरीय अधिवेशनबाट लामिछाने अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन ।
अधिवेशनले लामिछानेको अध्यक्षतामा १३ सदस्यीय नगर समिति निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा विरेन्द्र देवकोटा, सचिवमा लिलानाथ देवकोटा र कोषाध्यक्षमा चपला श्रेष्ठ निर्वाचित भएका छन ।
यस्तै सदस्यहरुमा पदम प्रसाद सापकोटा, पोष्टराज अधिकारी, शेर बहादुर रोक्का, शोभा रम्तेल, थर्क बहादुर आले, पुष्कर सूर्यवंशी, नारायण रायमाझी निर्वाचित भएका छन । अन्य दुई जना सदस्य पछि थप गर्ने गरि नगर समिति निर्माण गरिएको संगठनका जिल्ला अध्यक्ष पदम मगरले बताए ।
नगर समितिका अध्यक्ष अनन्तराज पोखरेलको अध्यक्षता तथा संगठनका बागमती प्रदेश सचिव दिपकराज तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा बोल्दै तिमल्सिनाले संगठनमा चिनिदा दुःख पाईन्छ हैन सवल नेतृत्व विकास हुन्छ भन्ने सोंच राख्न कर्मचारीहरुलाई आग्रह गरेका छन । कार्यक्रममा बोल्दै तिमल्सिनाले संगठनमा आवद्ध हुँदा आउने अप्ठ्यारोलाई चिर्न सकेमा मात्र नेतृत्वको विकास हुने भएकाले आफ्नो क्षमता विकास गर्न नेतृत्वमा आउन कर्मचारीहरुलाई आग्रह समेत गरे ।
कार्यक्रममा बोल्दै नेकपा एमालेका बागमती प्रदेश सदस्य एवम कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटाले लोकतन्त्रमा आस्था र विचार राख्न पनि भूमिगत रहनुपर्ने अवस्था आउनु दुःखद भएको बताईन । उनले कर्मचारीले आस्था बोकेका आधारमा कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र पोखरेलले कारवाहिको धम्कि दिएको खबर दुःखद रहेको बताईन । उनले कर्मचारीहरुलाई संगठित भएर पेशागत हक हितमा एकतावद्ध भएर लाग्न आग्रह गरिन ।
कार्यक्रममा बोल्दै नेकपा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले लोकतन्त्र र संघियताको स्थायीत्व र दीर्घायु कायम गर्ने पहिलो पाटो नै कर्मचारी तन्त्र भएको बताए । उनले लोकतन्त्रको अनुभूति गराउने कर्मचारी, जनप्रतिनिधि र राजनीतिक दलको सहकार्य र भूमिका महत्वपूर्ण रहेकोमा जोड दिए ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष बिमला पाण्डेले ट्रेड युनियन अधिकार स्थापित गर्नका लागि कर्मचारीहरु संगठित हुन आवश्यक रहेको बताईन । कार्यक्रममा कर्मचारी संगठन सिन्धुलीका अध्यक्ष पदम मगर, पेशागत महासंघ सिन्धुलीका अध्यक्ष बविन्द्रलाल माझी, स्थानीय तह कर्मचारी संघका अध्यक्ष मुकेश तामाङ लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।























