सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ९ भिमान चेकपोष्टबाट सोमबार सुन सहित एक जना पक्राउ परेका छन । वर्दिवासबाट काठमान्डौतर्फ जाँदै गरेको बा४ख५५४० नम्बरको फोर्स गाडीमा चेकजाँच गर्दा ४१ दशमलब ३५ तोला काँचो सुन, गरगहना, हिरा जस्तो पत्थर लगाएतका सामग्री सहित एकजना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
पक्राउ पर्नेमा पोखरिया नगरपालिका वडा नं. ८ जगतपुरका ४८ वर्षिय विक्रम शाह रहेका छन । विशेष सूचनाका आधारमा गाडीमा चेकजाँच गर्दा विल विजक विनाका सुन र सुनका गहना फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी अनिल कुमार खड्काले जानकारी दिएका छन ।
शाहको साथबाट कालो रंगको झोलाभित्र कपडाभित्र रातो कालो रंगको टेपले बेरेर ल्याएका चारवटा पोकाको सामान बरामद गरिएको खड्काले जानकारी दिए ।
उनका अनुसार शाहको साथबाट विस्कुट आकारको दुई वटा काँचो सुनका टुक्रा अर्थात ४१ दशमलब ३५ तोला सुन, ७३ थान औंठी, पाँच थान मंगलशुत्र, ६ थान झुम्का टप, एक थान बाला, एक थान नेकलेस, हिरा जस्तो देखिने पत्थर १२ थान, भिभो मोवाईल एक थान र १९ हजार नगद बरामद गरिएको छ । घटनाको अनुसन्धान भईरहेको डिएसपी खड्काले बताए ।





















