सिन्धुली । प्रहरीले लागु औषध सेवन गरि सवारी चलाउने ७ जना चालकलाई नियन्त्रणमा लिएको छ । बुधबार कमलामाई नगरपालिका वडा नं. ९ भिमान बसपार्कमा गरिएको चेकजाँचमा ७ जना चालकले लागुऔषध सेवन गरि सवारी चलाएको पाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेका अनुसार जिल्ला प्रहरी कार्यालय सिन्धुली, जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुली, जनस्वास्थ्य कार्यालय सिन्धुली, इलाका प्रहरी कार्यालय भिमानको संयुक्त चेकजाँचमा ७ जनाले लागु औषध प्रयोग गरि सवारी चलाएको पाईएको हो ।
बुधबार भिमानमा ६५ जना चालकको टिएचसि ¥यापिड टेष्ट गरिएको थियो । दुर्घटना न्युनिकरण तथा सवारी साधनबाट हुन सक्ने लागु औषध ओसारपसार रोकथामका लागि उक्त शिविर गरिएको काफ्लेले जानकारी दिए ।
लागु औषध सेवन गरेर सवारी चलाएका चालकमा वर्दिवास नगरपालिका १४ का सौरभ भुजेल, रुपनी २ सप्तरीका गजेन्द्र कुमार यादव, झापा बुद्धशान्ती २ का तुल्सी दर्जी, कटारी नगरपालिका १४ का चन्द्र बहादुर दमाई, लालबन्दी नगरपालिका ५ का राजकुमार घिमिरे, लालबन्दी नगरपालिका ५ का विष्णु अधिकारी, दोलखा कालिञ्चोक ९ का दिपक राज चिमरिया रहेका छन ।
उनीहरुलाई नियन्त्रणमा लिई लागु औषध नियन्त्रण ऐन अन्तर्गत कारवाहिको प्रक्रिया अगाडि बढाईएको एसपी काफ्लेले बताए ।





















