सिन्धुली । लागुऔषध सेवन गरि सवारी चलाउने १२ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विहिबार बिहान विपी राजमार्ग अन्तर्गत खुर्कोटमा गरिएको परिक्षणमा १२ जनाले लागु औषध सेवन गरि सवारी चलाएको पाईएको प्रहरीले जनाएको छ ।
जनस्वास्थ्य कार्यालय सिन्धुलीको प्राविधिक सहयोग र जिल्ला प्रहरी कार्यालय सिन्धुली, जिल्ला ट्राफिक कार्यालय सिन्धुली, इलाका प्रहरी कार्यालय सिन्धुलीले संयुक्त रुपमा गरेको टिएचसि ¥यापिड टेष्टको रिपोर्ट १२ जनामा पोजेटिभ देखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।
विपी राजमार्गमा चल्ने ७३ वटा ठूला साना सवारी साधनका चालकहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । प्रहरीले लागुऔषध ओसारपसार नियन्त्रण तथा सवारी दुर्घटना न्युनिकरण गर्नका लागि केहि समयदेखि सवारी चालकमा लागु औषध सेवनको परिक्षण सुरु गरेको छ । सोहि अनुरुप खुर्कोटमा विहिबार लागुऔषध परिक्षण गरिएको थियो ।
लागुऔषध सेवन गरेको पाईएका चालकहरुलाई नियन्त्रणमा लिएर लागुऔषध नियन्त्रण ऐन बमोजिम कारवाहिको प्रक्रियामा लगिएको प्रहरीले जनाएको छ ।




















