सिन्धुली । जिल्ला विपद व्यवस्थापन समिति मार्फत जिल्लामा ३१० परिवारले राहत पाएका छन । असोज ११ र १२ गतेको रोशी, सुनकोशी र वागमती बाढी प्रभावितहरुलाई खाद्य तथा गैह्र खाद्य राहत वितरण गरिएको हो ।
सुनकोशी गाउँपालिकाका २०३, गोलञ्जोर गाउँपालिकाका ९६ र हहिरपुरगढी गाउँपालिकाका ११ परिवारले राहत पाएको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ ।
बाढीबाट प्रभावित फिक्कलमा भने राहत वितरण गरिएको छैन । राहत वितरण एकद्धार प्रणालीबाट गरिएको तर विभिन्न संघसंस्थाहरुको सहयोगमा राहत वितरण गरिएको हो ।
राहत वितरण कार्यदल मार्फत जिल्लाका सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुली, नेपाल रेडक्रस सोसाईटी सिन्धुली, ह्याण्ड्स नेपाल, जनजाति समाज विकास कार्यक्रम सिन्धुली, रिलिफ नेपाल सिन्धुली, वल्र्ड भिजन, प्लान नेपाल तथा व्यवसायीहरुले उपलब्ध गराएको राहत एकद्धार प्रणाली मार्फत वितरण गरिएको राहत वितरण कार्यदलले जनाएको छ ।
राहत वितरणमा खाद्य तथा गैह्र खाद्य सामग्री समान ढंगले वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवम् राहत वितरण कार्यदल सिन्धुलीका संयोजक कृष्णमणी फुयाँलले जानकारी दिए ।
उनका अनुसार राहत वितरण गरिएका परिवारहरु घर पूर्ण क्षति भएका परिवार छन । स्थानीय तहले वडा वडाबाट तथ्यांक संकलन गरि पालिकाबाट प्रमाणित गरेर पठाएको विवरणका आधारमा राहत वितरण गरिएको उनले बताए ।
मृतकका परिवारलाई दुई लाख राहत
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बाढी पहिरोका कारण मृत्यु भएका २ जनाको परिवारलाई प्रति परिवार २ लाखका दरले राहत उपलब्ध गराएको छ ।
असोज १२ गते सुकेखोलाले बगाएर मृत्यु भएका कमलामाई नगरपालिका वडा नं. ८ का कृष्ण बहादुर बोगटी र असोज १२ गते नै पहिरोले पुरिएर मृत्यु भएका सुनकोशी गाउँपालिका वडा नं. १ का विनय कोइरालाको परिवारलाई उक्त राहत उपलब्ध गराईएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।




















