सिन्धुली । शुक्रबारदेखि कुशेश्वर महादेव मन्दिर सुनकोशी १ दुम्जामा रहेको आदि लिंगेश्वर कुशेश्वर गुरुकुलमा बाढीमा फसेका ३३ जनाको शनिबार साँझ नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
मौसम खरावीका कारण लामो समयदेखि उनीहरुको उद्धार हुन सकेको थिएन । शनिबार साँझ मौसम सुधार भएसँगै उनीहरुको उद्धार गरिएको हो ।
उद्धारपछि उनीहरुलाई सुनकोशी गाउँपालिका वडा नं. १ कै गजुली दहमा सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले बताए ।
कोशी र रोशी नदीले घेरिएर बीचमा मन्दिर परिसरमा फसेका उनीहरुलाई उद्धार गरिएको हो । आदि लिंगेश्वर कुशेश्वर महादेव गुरुकुलमा अध्ययन गर्ने २६ जना बटुक (विद्यार्थी), ३ जना गुरु (शिक्षक), २ जना कर्मचारी र २ जना मन्दिरका पुजारी मन्दिर परिसरमा फसेका थिए ।
उनीहरुको रोशी र कोशी पार गरेर उद्धार गर्न नसकिएपछि हेलिकप्टरबाट उद्धार गर्न गृह मन्त्रालयलाई अनुरोध गरिएको थियो । शनिबार विहानदेखि हेलिकप्टर उद्धारको प्रयास निरन्तर गरिए पनि सम्भव भएको थिएन ।




















