सिन्धुली । रोशी र सुनकोशीमा आएको बाढीले सुनकोशी तटीय क्षेत्रका अढाई सय भन्दा बढी घर पूर्ण रुपमा क्षति गरेको छ । सुनकोशी र रामेछापको खाँडादेवी जोड्ने झोेलुंगे पुल पनि बाढीले बगाएको छ ।
बाढीले सिन्धुलीको खुर्कोट र रामेछाप जोड्ने पक्कि पुल र झोलुङ्गे पुल बगाएको छ । खुर्कोट तर्फको तल्लो बसपार्कको बजार क्षेत्र पुरै बगाएको छ । इलाका प्रहरी कार्यालय खुर्कोट समेत डुवानमा परेको छ ।
सुनकोशी र रोशीमा आएको बाढीका कारण दुम्जा, मुलकोट, खुर्कोट लगाएतका ठाउँहरु बाढीका कारण क्षतविक्षत भएका छन । २ दिनमा बाढीले अढाई सय बढी घर पूर्ण रुपमा बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले बताए ।
काफ्लेका अनुसार दुम्जा र कुशेश्वरको बीचमा पहिरोले एक घरमा पूर्ण क्षति गरेको छ । दुम्जामा एक १२ वर्षिय बालक घरमा पुरिएका छन । उनको उद्धार हुन सकेको छैन ।
रामेछापबाट सिन्धुलीतर्फ विद्युत ल्याईएको पोल खुर्कोटमा ढलेपछि सिन्धुलीमा विहानैदेखि विद्युत अवरुद्ध भएको छ । निरन्तर वर्षा भएको र विद्युत लाईन अवरुद्ध भएपछि टेलिफोनमा समेत गडवडी सुरु भएको छ ।




















