सिन्धुली । जिल्लामा जापनिज इन्सफ्लाईटिसका विरामी भेटिएका छन । दुधौली नगरपालिकामा दुई जना विरामी भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
जापनिज इन्स्फ्लाईटिसबाट एक जनाको मृत्यु भईसकेको छ । दुधौली नगरपालिका वडा नं. ६ का ५७ वर्षका वुधिया कुँमरको उपचारका क्रममा मृत्यु भएको हो । उनलाई काठमान्डौको टिचिङ अस्पताल र विर अस्पतालमा उपचार गरिएको थियो । उपचार गर्दै गरेका कुमँरलाई घरमा ल्याईएको र घरमा आएपछि थप विरामी भएपछि सिर्थौलीमा रहेको नगर अस्पतालमा उपचार गराउँदै गर्दा मृत्यु भएको छ ।
मृतक कुमँरमा जापनिज इन्सफ्लाईटिस भएको भदौ १८ गते पुष्टि भएको थियो भने भदौ २१ गते उनको मृत्यु भएको जनस्वास्थ्य कार्यालय सिन्धुलीका ल्याव टेक्निसियन गंगाराम कार्कीले बताए ।
यस्तै दुधौली नगरपालिका वडा नं. १४ ककुरठाकुरमा एक जना जापनिज इन्सफ्लाईटिसका विरामी भेटिएको र उनी उपचारको क्रममा रहेको कार्कीले बताए ।
जिल्लामा जापनिज इन्सफ्लाईटिसका विरामी भेटिएपछि जनस्वास्थ्य कार्यालय सिन्धुलीले दुधौली ६ मा सचेतनामूलक छलफल समेत गरिएको र जनचेतनामूलक कार्यक्रम गर्ने तयारी गरिएको कार्कीले बताए ।
जापनिज इन्स्फलाईटिस लामखुट्टेको टोकाईबाट लाग्ने रोग हो । विशेष गरि जापनिज इन्स्फलाईटिस भाईरस भएको जनावर (सुँगुर वा जलपंक्षी) लाई टोकेको लामखुट्टले टोकेमा यो रोग मानिसमा सर्ने ल्याव टेक्निसियन कार्कीले बताए ।
उनका अनुसार जापनिज इन्स्फलाईटिस भएका विरामीलाई ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, कम्पन हुने, गर्दन कडा हुने, पक्षघात हुने लगाएतका लक्षण देखिन्छ । यो रोग संक्रमण भएको १५ दिनभित्र विरामीमा लक्षण देखा पर्छ ।




















