सिन्धुली । तीज भन्नासाथ रातो पहिरनमा सहिने, मिठो खाने र रमाईलोसँग नाचगान गर्ने भन्ने बुझिरहेको सन्दर्भमा सिन्धुलीका सर्वदलिय सर्वपक्षिय महिलाहरुले महिलाका पाँच सवालमा छलफल गरेर तीज मनाएका छन ।
मंगलबार सिन्धुलीमाढीमा तीन ठूला राजनीतिक दल सम्वद्ध महिला संगठनहरु अनेमसंघ, नेपाल महिला संघ र अनेमसंघ क्रान्तिकारीले संयुक्त कार्यक्रमको आयोजना गरि पाँच सवालमा छलफल गरे । छलफल अन्तक्र्रियासँगै तीजको शुभकामना समेत आदानप्रदान गरे । छलफलमा राजनीतिक दलको नेतृत्वमा रहेका पुरुष नेताहरुलाई समेत अतिथिका रुपमा सहभागि गराए ।
महिलाका सवालमा साझा धारणा बनाएर महिला आन्दोलनका उपलब्धि रक्षा गर्न आगामी कार्ययोजना बनाउनका लागि उक्त छलफल गरिएको हो ।
कार्यक्रममा लैंगिक हिंसा, त्यसको असर र न्युनिकरण, तिज पर्वको महत्व र त्यसले समाजमा पारेको प्रभाव, राजनीतिमा महिला सहभागिता अवसर र चुनौती, उद्यमी महिलाहरुका अवसर र चुनौती, जलवायु परिवर्तनले महिलामा पारेको प्रभावका बारेमा छलफल गरिएको थियो ।
कार्यक्रममा नेकपा एमाले सिन्धुलीका उपसचिव एवम् अनेमसंघ सिन्धुलीका अध्यक्ष पार्वती भट्टराई र पत्रकार विमला पाण्डेले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै महिला नेतृहरुले राजनीतिमा महिलाहरुलाई अवसर र चुनौती रहेको, बताएका छन । उनीहरुले महिला आन्दोलनको उपलब्धि रक्षा गर्दै अर्थपूर्ण सहभागिता गर्न, लैंगिक हिंसा न्युनिकरण गर्न कार्ययोजना बनाएर अगाडि बढ्नुपर्ने बताएका छन । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता तथा जिल्ला समन्वय समितिका उपप्रमुख शान्ता कार्कीले जिल्लालाई महिलामय बनाउनका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताईन ।
कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका नेता तथा सुनकोशी गाउँपालिकाका अध्यक्ष दिपा बोहोराले सिन्धुली जिल्लालाई लैंगिक हिंसा मुक्त बनाउन सबैले जिम्मेवार भएर अगाडि बढ्नुपर्ने बताईन । उनले बालबालिकाको अधिकार र महिलाको अधिकार सुनिश्चित हुन आवश्यक रहेको बताईन । उनले सबै राजनीतिक दलहरु लैंगिक समानताका पक्षमा उभिन समेत सुझाव दिईन ।
अनेमसंघ क्रान्तिकारीका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज सविता कोईरालाले महिलाका अधिकार स्थापित गर्न अग्रणी भूमिकामा रहेका महिलाहरु एकतावद्ध भएर अगाडि बढ्नुपर्ने बताइन । कोइरालाले निर्णायक शक्तिका रुपमा महिलाको उपस्थिति नभए महिला आन्दोलन कमजोर हुने भन्दै महिला आन्दोलनको उपलब्धि संस्थागत गर्न गम्भिरतापूर्वक अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताईन ।
नेपाल महिला संघका सभापति तथा नेपाली कांग्रेसका नेता गंगा दाहालले महिला नेतृत्व स्थापित हुन र नेतृत्व विकास गर्नका लागि बहस गर्न र धैर्यता कायम गर्न महिला नेताहरुलाई आग्रह गरिन ।
नेपाल महिला संघका अध्यक्ष गंगा दाहालको अध्यक्षता एवम् जिल्ला समन्वय समितिका उपप्रमुख शान्ता कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका महेन्द्रदेव श्रेष्ठ, नेपाली कांग्रेसका नेता माणिक ढकाल, राप्रपाका भिष्मराज श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष सूर्य पाख्रिन, महिला नेतृहरु रश्मिला देवकोटा, अनिता राई लगाएतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा सहभागिहरुले छलफलमा प्रस्तुत विषयवस्तुमा सुझाव समेत दिएका थिए । अनेमसंघ सिन्धुलीका सचिव रमा कार्कीले कार्यक्रमको सहजीकरण गरेकी थिईन ।























