सिन्धुली । नेकपा एमाले सिन्धुलीको आठौं अधिवेशनको तयारी तिव्र रुपमा भईरहेको छ । आजदेखि आठौं जिल्ला अधिवेशन सिन्धुलीमाढीमा सुरु भएको छ । अधिवेशनको सुरु हुनुपूर्व अध्यक्षका पाँच जना आकांक्षी देखिएका छन ।
युवा नेता महेन्द्रदेव श्रेष्ठ, कमलामाई नगरपालिकाका पूर्व मेयर तथा पूर्व प्रदेश कमिटी सदस्य खड्ग बहादुर खत्री, वर्तमान अध्यक्ष कुमार बहादुर कार्की (रामकुमार), वर्तमान सचिव नारायण बराल र पुराना नेता डम्बर कार्कीको अध्यक्षमा दावेदारी रहेको छ ।
पुराना नेता डम्बर कार्कीले नीति सिद्धान्तलाई आत्मसात गर्दै पार्टी सुदृढीकरणको मुद्दा लिएर आफु उमेदवार बनेको बताएका छन । युवा नेता महेन्द्रदेव श्रेष्ठ समय अनुकुलको पार्टी निर्माण र युवाहरुको नेतृत्व स्थापित गर्ने एजेण्डा सहित उमेदवारी घोषणा गरेका छन ।
अर्का उमेदवार हुन पूर्व मेयर समेत रहेका खड्ग खत्री । केहि समय अघि सम्पन्न बागमति प्रदेश अधिवेशनमा उपसचिवमा पराजित भएका उमेदवार हुन । उनी अहिले सर्वसम्मत नेतृत्व चयन भएमा आफ्नो दावी भएको भन्दै सर्वसम्मत नेतृत्वको रटानमा छन ।
वर्तमान सचिव नारायण बरालले सर्वसम्मत अध्यक्षको पक्षमा लविङ गरिरहेका छन । सातौं जिल्ला अधिवेशनमा उनी सचिवमा सर्वसम्मत निर्वाचित भएका थिए ।
वर्तमान अध्यक्ष समेत रहेका रामकुमार कार्कीले आफ्नो कार्यकाल पुरा समय काम गर्न नपाएकाले आगामी कार्यकाल नेतृत्व लिन पाउनुपर्ने दावी सहित अध्यक्षका लागि छलफलमा व्यस्त छन ।
अन्य उमेदवारको टुंगो लागि सकेको छैन तथापी दावेदारी रहेको चर्चा भने छ । अखिल नेपाल महिला संघको अध्यक्ष वा सचिवमध्ये एक पद महिलालाई दिनुपर्ने दावी गरिरहेको छ तथापी अनेमसंघका अध्यक्ष पार्वती भट्टराईले आफ्नो दावेदारी जनाईरहेकी छिन । उनले सर्वसम्मत नेतृत्वमा बाधक भने नबन्ने बताएकी छिन ।
यस्तै सचिवमा वेदराज दाहाल, कुमार शर्मा, तारानिधी पोखरेलको दावेदारी छ । उपाध्यक्षमा धिरज मगर, वर्तमान उपाध्यक्ष कर्ण घिसिङ, पुराना नेता तिर्थ बराल, निलिमा गुरुङ लगाएतको नाम चर्चामा छ । दुई उपसचिवमा दर्जन बढी नेताहरुको दावी छ । उपसचिवमा युवा नेताहरुको बढी दावी देखिन्छ । एक उपसचिवमा महिलाको दावी समेत रहने देखिन्छ ।
एमालेको केन्द्रीय र प्रदेश कमिटीका नेतृत्व पदाधिकारीमा अत्यधिक आकांक्षीका बाबजुद सर्वसम्मत नेतृत्व चयनका लागि गृहकार्य गरिरहेको नेकपा एमाले सिन्धुलीका इञ्चार्ज खेम लोहनीले बताएका छन । उनले सर्वसम्मत नेतृत्व चयन हुने दावी गरेका छन ।
भुगोलबाट निर्वाचित हुने सदस्यका लागि पार्टीले स्थानीय तहलाई कोटा निर्धारण गरेको छ । भुगोलबाट निर्वाचित हुने सदस्य सर्वसम्मत गर्न पार्टीको निर्देशन समेत रहेको छ । जिल्लामा १५ प्रतिशत युवा, ३३ प्रतिशत महिला सहित १ सय ५ जनाको कमिटी निर्वाचित हुने छ ।