सिन्धुली । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुलीको खुर्कोटमा कार्यकर्तालाई सम्बोधन गरेका छन । मध्यपहाडी राजमार्गको यात्राका क्रममा सिन्धुली आईपुगेका ओलीले स्थलगत अध्ययन गरेर राष्ट्र निर्माणको वृहतर योजना बनाउदै गरेको बताए ।
झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म मध्यपहाडी राजमार्गमा संमृद्धिको संकल्प यात्रामा रहेको एमाले टोली खुर्कोटको सभापछि कोशी प्रदेशको ओखलढुंगाको हर्कपुरमा रहेको सभालाई सम्बोधन गर्न पुगेको छ ।
यात्राका क्रममा मंगलबार खुर्कोटमा छोटो सम्बोधन गर्दै ओलीले एमाले बाहेक अरुले विकासका काम गर्न नसक्ने दावी गरे । उनले भने, ‘अरुले एक वर्षमा गर्ने काम एमालेले दुई दिनमै गरेको छ ।’
सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाको अवलोकन समेत गरेका ओलीले खुर्कोटको सम्बोधनमा आयोजनाका समस्या सम्बोधन गर्न पहल गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा बोल्दै ओलीले स्थानीय जनता र पार्टी पंक्तिले दिएका सुझाव र योजनालाई कार्यान्वयन गर्न पार्टी लागि पर्ने बताए । उनले समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानमा रहेको बताउँदै एमाले देश विकासमा दृढ संकल्प सहित अघि बढेको दावी गरे ।
उनले जनताको समस्या सुन्ने पार्टी एमाले भएको जिकिर गर्दै जनताबाट सुनेका समस्या, प्राप्त ध्यानाकर्षणपत्र र ज्ञापन पत्रहरु अध्ययन गरेर विकासको खाका कोरिने बताए । ओलीलाई खुर्कोटमा कलाघर सिन्धुलीका भजन टोलीले भजन मार्फत स्वागत गरेका थिए भने नेता कार्यकर्ताहरुले फूलमाला सहित स्वागत गरेका थिए ।





















