सिन्धुली । विहिबार सिन्धुलीमाढीको होटल सिन्धुली इनमा प्रयोगकर्तामैत्री व्यवस्था : अभ्यास र कार्यदिशा विषयमा प्यानल छलफल कार्यक्रम भयो । प्यानल छलफलका लागि प्यानलिस्टमा नाम थियो सिन्धुली अपांग महिला संघ सिन्धुलीका अध्यक्ष दिलकुमारी देवकोटा (दिपा) को । प्लान नेपालको सहयोग तथा ह्याण्ड्स नेपाल र सिन्धुली अपांग महिला संघको आयोजनामा प्यानल छलफल गरिएको थियो ।
जसको प्यानलमा नीति निर्माण र कार्यान्वयन तहका व्यक्तिहरु सहभागि थिए । प्यानलिस्टमा जिल्ला समन्वय समिति सिन्धुलीका कार्साङ लामा, गाउँपालिका महासंघको केन्द्रीय सचिवालय सदस्य तथा सुनकोशी गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा, गाउँपालिका महासंघ बाग्मति प्रदेशका अध्यक्ष एवम् तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर थापा मगर, नेपाल नगरपालिका संघ बाग्मति प्रदेशका सदस्य एवम कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटा, दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारी, खानेपानी उर्जा तथा सिंचाई मन्त्रालय बाग्मति प्रदेशका डिभिजनल इन्जिनियर रविन श्रेष्ठ, खानेपानी सरसफाई उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष राजेन्द्र अर्याल, शहरी विकास तथा भवन डिभिजन कार्यालय सिन्धुलीका प्रमुख दुर्गा प्रसाद घिमिरे, ह्याण्डस नेपालका अध्यक्ष वासुदेव अधिकारी लगाएत थिए ।
प्यानल छलफलमा अपांगतामैत्री भौतिक संरचनाका बारेमा छलफल गरियो । प्यानलिष्ट छलफलका लागि प्यानलका टिममा रहेका सबै हलको माथिल्लो भागमा गएर बसे तर आयोजक संस्था मध्येकै अध्यक्ष समेत रहेकी देवकोटा मञ्चमा उक्लन सकिनन र तलै सहभागिहरुसँग बसिन । कारण थियो उनी स्पाईनल इन्जुरी भएकी अपांग महिला थिईन । यसले कार्यक्रम निर्माताले अपांगतामैत्री सोंच सहित कार्यक्रम बनाईदैनन भनेर देखाईरहेको थियो । देवकोटाले बोल्ने क्रमको सुरुमै भनिन, ‘हामीले बनाएको कार्यक्रममा म आफै मञ्चमा जान सकिन, दुःख लागेको छ । अरुलाई कुरा बुझाउन त झन समय लाग्ने नै भयो ।’
कार्यक्रममा भौतिक संरचना अपांगता मैत्री नभएको, इन्जिनियरिङ डिजाईनमा अपांगताको सवाललाई ध्यान नदिईएको विषयमा बहस भयो । विशेष गरि स्थानीय तह र सो मातहतका कार्यालयहरुका नयाँ भवनहरु, सरकारी निकायका भवनहरु समेत अपांगता मैत्री बन्न नसकेको सवाल अपांगता भएका व्यक्तिहरुले उठाएका थिए । भौतिक संरचनासँगै मानवीय व्यवहारमा समेत छलफल भएको थियो । जसले हाम्रा सार्वजनिक निकायहरु अपांगतामैत्री, बालमैत्री र महिलामैत्री छैनन भन्ने सन्देश दिईरहेको थियो ।
कार्यक्रममा प्लान नेपालका विनोद शर्माले सिन्धुलीका पाँच स्थानीय तहमा अपांगता भएका क्षेत्रमा भएका नीति, कानुन र बजेटको तालमेलका सवाल समेत उल्लेख गरि प्रतिवेदन पेश गरे । प्रतिवेदनले स्थानीय तहहरु कानुन निर्माणमा चासो नदिएको, केहि बनेका कानुन प्रयोगकर्तामैत्री नभएको, प्रयोगकर्ताको पहुँचमा नीति नियमहरु सार्वजनिक नगरिएको, कार्यक्रम बनाउन उदासिनता देखाएको, बनाएका कार्यक्रममा समेत बजेट विनियोजनामा ध्यान नदिएको लगाएतका सवाल उल्लेख गरिएको थियो ।
कार्यक्रममा सार्वजनिक निकायहरु अपांगतामैत्री हुनुपर्ने, अपांगताका सवालमा स्थानीय, प्रदेश तथा संघमा कानुनहरु निर्माण हुनुपर्ने र भएका कानुनलाई बजेट विनियोजन गरि कार्यान्वयनमा लानुपर्ने सुझाव आएका थिए । त्यस्तै पुराना भवनहरुलाई अपांगतामैत्री, बालमैत्री र महिला मैत्री बनाउनुपर्ने सवाल समेत उठेका थिए ।
अपांगता भएका व्यक्तिका लागि दोभासे, सहयोगी कर्मचारीको व्यवस्था गर्नुपर्ने, सहायक सामग्रीको व्यवस्थापनमा स्थानीय तहले ध्यान दिनुपर्ने, अपांगता भएका व्यक्तिहरुको तथ्यांक व्यवस्थापन गर्नुपर्ने, अपांगतामैत्री हेल्प डेक्सको स्थापना गर्नुपर्ने, अपांगता भएका व्यक्तिको पहुँचमा पुग्ने बडापत्रको व्यवस्था गर्नुपर्ने लगाएतका सवालहरु उठाए ।
यस्तै सरकारी संरचना तथा अन्य भौतिक संरचनाहरु अपांगता मैत्री, बालमैत्री र महिला मैत्री हुनुपर्ने सुझाव समेत सहभागिले दिएका छन । प्यानलिष्टमा रहेका सहभागिहरुले सेवा प्रदायकहरु अपांगतामैत्री नभएको स्वीकार गरेका छन । उनीहरुले प्रयोगकर्तामैत्री अवस्था, अभ्यास र कार्यदिशा परिवर्तन गर्न तयार रहेको भन्दै पाँचवटा बुँदामा लिखित प्रतिवद्धता समेत व्यक्त गरेका छन ।
सबै किसिमका अपांगता भएका व्यक्तिहरुको मानवअधिकार र मौलिक हकको पूर्ण सम्मान गर्ने, स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनमा भएका प्रावधानलाई कार्यान्वयन गर्ने, आयोजना तथा विकासका काममा अपांगता भएका व्यक्तिहरुको समावेशीकरणमा ध्यान दिने, स्थानीय तहका समितिहरु गठन, कानुन निर्माण तथा अनुगमनमा अपांगता भएका व्यक्तिहरुको संस्थागत सहभागिता गर्ने र अनुगमन मुल्यांकनका सूचकहरुमा अपांगता एवम् प्रयोगकर्तामैत्री व्यवस्थालाई समावेश गर्ने लगाएत बुँदामा उनीहरुले प्रतिवद्धता जनाएका छन ।
























