सिन्धुली । तेस्रो राष्ट्रिय माझी गोल्ड कपको उपाधि आयोजक ले जितेको छ । नेपाल माझी उत्थान संघ सिन्धुली (ए) ले जितेको हो । मंगलबार सिन्धुलीको मरिणमा सम्पन्न फाईनल खेलमा नेपाल माझी उत्थान संघ सिन्धुलीले नेपाल माझी उत्थान संघ रामेछापलाई हराउँदै उपाधी जितेको हो ।
पहिलो र दोस्रो राष्ट्रिय माझी गोल्ड कपको उपाधि कब्जा गर्दै आएको नेपाल माझी संघ रामेछापले तेस्रो राष्ट्रिय माझी गोल्ड कपमा उपविजेतामा चित्त बुझाएको छ ।
खेलको निर्धारित समयमा दुवै टिमले २–२ गोल गरी बराबरी भएको थियो । पेनाल्टी सुटबाट सिन्धुलीले रामेछापलाई ७–६ गोलअन्तरमा खेल जितेको हो ।
विजेता नेपाल माझी उत्थान संघ सिन्धुली ‘ए’ ले २ लाख ६५ हजार ५५५ रुपैंया नगद पुरस्कार सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता नेपाल माझी संघ रामेछापले १ लाख ३२ हजार २२२ रुपैंया नगद पुरस्कार सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा तेस्रो हुने नेपाल माझी संघ सुनसरीले ६६ हजार ६६६ नगद पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा चौथो हुने नेपाल माझी संघ सिन्धुपाल्चोकलाई २५ हजार नगद पुरस्कार प्रदान गरिएको छ ।
नेपाल माझी उत्थान संघ सिन्धुलीको आयोजनामा सिन्धुलीको मरिण र हरिहरपुरगढीमा खेल भएको थियो । खेल कार्तिक १३ गतेबाट सुरु भएको थियो । खेलमा विभिन्न जिल्लाका २३ टिमको सहभागिता रहेको थियो ।