सिन्धुली । चौथो सहिद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटवल प्रतियोगिता अन्तर्गत आइतबार एउटा खेल भएको छ । न्यु कमलामाई युवा क्लब करकरे सिन्धुली र जनसंगम युवा क्लब चन्दनपुर सिन्धुलीबीच भएको खेलमा पेनाल्टी सुटबाट न्यु कमलामाई विजयी भएको छ । इनारपानी युवा क्लब इनारपानी सिन्धुलीको आयोजनामा कमलामाई नगरपालिका ९ भिमानमा जारी खेलको ९० मिनेटमा दुवै समूहले १–१ गोल गरेका थिए ।
बराबरी गोल भएपछि पेनाल्टीका लागि समय दिईएको थियो । पेनाल्टी सुटबाट न्यु कमलामाईले जनसंगम युवा क्लबलाई ४–३ गोल अन्तरले पराजित गरेको इनारपानी युवा क्लबका अध्यक्ष जीवन चौहानले बताए ।
उनका अनुसार खेलमा न्यु कमलामाईका गोल रक्षक उज्जल बस्नेत म्यान अफ द म्याच भएका छन । म्यान अफ द म्याच बस्नेतलाई कमलामाई नगरपालिकाका कार्यवाहक मेयर मञ्जु देवकोटाले मेडल सहित सम्मान गरेकी छिन ।
यस्तै पराजित टिमलाई आयोजक संस्थाका अध्यक्ष जीवन चौहानले मायाको चिनो प्रदान गरेका छन । विजेता टिमले क्वाटर फाईनलको खेल खेल्न पाउने छ ।
बुधबारदेखि जारी फुटवल प्रतियोगिता कार्तिक २५ गतेसम्म चल्ने छ । खेलमा १६ टिम सहभागि रहेको छ । प्रतियोगितामा सिन्धुली, धनुषा, महोत्तरी, उदयपुर, काठमान्डौ लगाएतका खेलाडीहरु खेलमा सहभागि भएका छन ।





















