सिन्धुली । सिन्धुलीका पत्रकारलाई आत्म सुरक्षा तालिम दिन थालिएको छ । नेपाल पत्रकार महासंघ बाग्मति प्रदेश समितिको आयोजना तथा प्रदेश युवा परिषद बाग्मति प्रदेशको सहयोगमा जिल्लाका क्रियाशिल पत्रकारहरुका लागि आत्मसुरक्षा तालिम दिईएको हो । तालिम मंगलबार र बुधबार सिन्धुली माढीमा सञ्चालन हुने छ ।
तालिमको उद्घाटन गर्दै कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोखरेलले व्यवसायीक पत्रकारीता गर्ने पत्रकारहरुको खाँचो रहेको औंल्याएका छन । उनले पत्रकारीताका कारण पत्रकारलाई हुने जोखिम कम गर्न तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गरे । पोखरेलले पत्रकारहरु कतिपय अवस्थामा आफ्नै व्यवहारका कारण समेत जोखिममा परेको उल्लेख गरे । तथ्य र प्रमाणका आधारमा पत्रकारीता गर्न पनि उनले पत्रकारहरुलाई सुझाव दिएका छन ।
उद्घाटन कार्यक्रममा न्युनतम पारिश्रमिक निर्धारण समितिका पूर्व सदस्य बिमला पाण्डेले नयाँ तथा पुराना पत्रकारहरुलाई पत्रकारीता गर्दा आत्मसुरक्षाको ज्ञान अति नै महत्वपूर्ण रहने बताईन । उनले पत्रकारले पेशा, आफ्नो र आफ्ना सामग्रीहरुको सुरक्षा गर्दै पत्रकारीता गर्नुपर्ने भएकाले आत्मसुरक्षाका सिप निकै महत्वपूर्ण हुने बताईन । उनले आत्म सुरक्षा महिला पत्रकार र अपांगता भएका पत्रकारलाई झनै बढी आवश्यक रहेको बताईन ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बाग्मति प्रदेशका महासचिव कृष्ण सारु मगरले बाग्मति प्रदेशमा एक वर्षमा ५५ जना पत्रकारहरु कामको शिलशिलामा असुरक्षित भएको बताए । ती घटनामा भौतिक आक्रमण, विस्थापित, धम्कि, लैंगिक हिंसा जस्ता घटनाहरु भोगेको तथ्यांक रहेको बताए । उनले पत्रकारीता पेशामा जति वेला पनि अवरोध आईरहने भएकाले पेशागत र भौतिक सुरक्षाका लागि तालिम सञ्चालन गरिएको बताए ।
नेपाल पत्रकार महासंघ बाग्मति प्रदेशका अध्यक्ष शिव देवकोटाको अध्यक्षता एवम कमलामाई नगरपालिकाका मेयर उपेन्द्र पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै जिल्ला युवा समितिका अध्यक्ष हेम कार्की, नेपाल पत्रकार महासंघका पूर्व सभापति राजकुमार कार्की लगाएतले पत्रकारीता पेशालाई सुरक्षित र मर्यादित बनाउन आवश्यक रहेको बताएका थिए ।
कार्यक्रमको उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कृष्णहरी घिमिरेले स्वागत गरेका थिए भने सचिव पुष्कर थापाले कार्यक्रम सञ्चालन गरेका थिए ।
तालिममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा काम गर्ने २५ जना बढी पत्रकारहरुको सहभागिता रहेको छ । तालिमको सहजकीकरण दिपेन्द्र रोका र विष्णु श्रेष्ठले गरिरहेका छन ।






















