सिन्धुली । सिन्धुलीमा क्रियाशिल महिला अधिकार तथा मानवअधिकारकर्मीहरुले सिन्धुली लगाएत देशभर महिला तथा बालिकामाथि यौनजन्य, शारीरिक, मानसिक हिंसाहरु बढ्दै गएको र पीडितले न्याय र सुरक्षा पाउन नसकेको भन्दै त्यसको प्रभावकारीताका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन ।
विहिबार प्रमुख जिल्ला अधिकारी मार्फत उक्त ज्ञापन पत्र बुझाएका हुन । महिला र बालिका घर, समाज, विद्यालय तथा कुनै पनि स्थानमा सुरक्षित हुन नसकेको र न्यायमा समेत पहुँच हुन नसकेको उल्लेख गरि ज्ञापन पत्र बुझाईएको छ ।
जिल्लामा आफ्नै परिवारका अविभावक, आफन्त तथा नजिकका व्यक्तिवाट हुने यौनजन्य हिंसा, घरेलु हिंसाका घटनाहरु बढी रहेको र यौनजन्य हिंसाका घटनाहरुमा पीडितले न्याय नपाउने, गाउँ समाज, वडा कार्यालयहरु, प्रहरीका आँखा अगाडि नै मिलापत्र गर्ने जस्ता काम भईरहेको प्रति प्रधानमन्त्रीलाई ध्यानाकर्षण गरिएको छ ।
मुद्दा दर्ता गर्न नदिने, मिलाउन दवाव दिने, आर्थिक प्रलोभन देखाउने, राजनीतिक वा अन्य दवावहरुका कारण लैंगिक हिंसा पीडितहरुले न्याय पाउने अवस्था नभएको, अपांगता भएका व्यक्तिहरु, बालिका तथा किशोरीहरु बढी जोखिममा रहेको भन्दै उनीहरुको सुरक्षाको समेत राज्यले ज्ञारेन्टी गर्नुपर्ने माग गरेका छन ।
मौखिक तथा लिखित रुपमा उजुरी प्रक्रियामा आएका घटनाहरुमा प्रभावकारी अनुसन्धान गर्न आवश्यक रहेको र पीडितको सुरक्षाको राज्यले जिम्मा लिनुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
पीडितलाई न्याय प्राप्तीको लागि सुरक्षित र ढुक्क बनाउने, पीडितको सुरक्षा गर्ने र राज्यको जिम्मेवारीलाई प्रभावकारी बनाउने काममा सरकारले अविलम्ब ध्यान दिन पनि आग्रह गरिएको छ ।
यस्तै ज्ञापनपत्रमा महिला हिंसा र यौजनजन्य हिंसाका कारण आश्रित बालबालिकाहरुमा समेत प्रभाव परिरहेको उल्लेख गरिएको छ । ‘त्यस्ता आश्रित बालबालिकाहरुको राज्यले संरक्षण गर्न दीर्घकालिन योजना बनाउन सरकारको गम्भिर ध्यानाकर्षण गर्दछौं’, ज्ञापनपत्रमा भनिएको छ ।
ज्ञापनपत्र अखिल नेपाल महिला संघ सिन्धुली, महिला मानवअधिकार रक्षक सञ्जाल सिन्धुली, क्रियाशिल पत्रकार महिला सिन्धुली, इन्सेक सिन्धुली, सिन्धुली अपांग महिला संघ सिन्धुलीले संयुक्त रुपमा बुझाएका हुन ।





















