सिन्धुली । जिल्लामा रहेका सरकारी तथा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा स्तनपान कक्ष तथा शिशु स्याहार कक्ष नहुदा सेवाग्राही तथा कार्यालयमा काम गर्ने महिला कर्मचारीहरुलाई समस्या परेको भन्दै अखिल नेपाल महिला संघ सिन्धुलीले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ । एकाध कार्यालयमा भएका स्तनपान कक्षहरु पनि हटाईएको वा प्रभावकारी नबनाइएको भन्दै विहिबार संघले ध्यानाकर्षण पत्र बुझाएको हो ।
संघले सेवाग्राहीहरुको अत्यन्तै चाप हुने सरकारी कार्यालयहरु, बैंकहरु, स्थानीय तहहरु, वडा कार्यालयहरु, शैक्षिक संस्थाहरुमा समेत महिला कर्मचारी र महिला सेवाग्राहीहरुलाई सहज हुने गरि स्तनपान कक्ष र बालबालिकाहरुका लागि शिशु स्याहार कक्ष बनाउन सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालय सिन्धुलीको ध्यानाकर्षण गराएको हो ।
संघका जिल्ला अध्यक्ष पार्वती भट्टराईले स्तनपान कक्ष र शिशु स्याहार कक्ष निर्माणका लागि सबै सरोकारवालासँग समन्वय र सहजीकरण गरी सहयोग गरिदिन समेत अनुरोध गरेका छन । संघका अध्यक्ष भट्टराईले निमित्त प्रमुख जिल्ला अधिकारी चिरञ्जिीवि गिरीलाई ध्यानाकर्षण पत्र बुझाएकी हुन । निमित्त प्रमुख जिल्ला अधिकारी गिरीले अति आवश्यक र संवेदनशिल माग भएकाले कार्यालय प्रमुखहरुको बैठकमा सबै कार्यालयहरुलाई सूचना पुग्ने गरि छलफल गर्ने प्रतिवद्धता जनाएका छन ।





















