सिन्धुली । बागमति प्रदेशका अर्थमन्त्री जगन्नाथ थपलियाले चुच्चे नक्सा जारी गरेका कारण नेकपा एमाले नेतृत्वको सरकार नेकपा एमालेमाथि निरन्तर प्रहार भएको बताए । उनले छिमेकी राष्ट्रसँग मित्रतालाई गाढा बनाउनु पर्नेमा छिमेकीबाट सचेत हुनुपर्ने अवस्था आएको बताए । उनले सबै नेपालीलाई स्वाधिन राष्ट्रियता र सत्यको पक्षमा बोल्न आग्रह समेत गरे ।
बागमति प्रदेश सरकारले सञ्चालन गरेका विकास आयोजनाको अनुगमनका लागि सोमबार सिन्धुली आएका थपलियाले पत्रकारहरुसँग कुरा गर्दै छिमेकी राष्ट्रले नेपाललाई गर्ने हेला होचो र थिचोमिचोका विरुद्ध विद्रोह गर्नुपर्ने आवश्यकता रहेको समेत औंलाएका छन ।
कृषिमा अनुदान नदिंदा नेपालको कृषि उत्पादन महंगो बनेको र आयात बढेका कारण अर्थतन्त्रमा समस्या आएको समेत थपलियाले बताएका छन ।
उनले आयात रोकिदा गहुँजन्य उद्योगहरु बन्द हुने अवस्थामा पुगको बताउँदै कृषि उत्पादनमा अनुदान आवश्यक रहेको बताए । वर्तमान केन्द्रीय सरकारले मलमा मुल्यवृद्धि गरेर गल्ती गरेको हुदा यसलाई सच्याउन आवश्यक रहेको समेत बताए । उनले बाग्मति प्रदेश सरकारको तर्फबाट मल कारखाना खोल्न लागि परेको बताए ।
नेकपा एमालेका बागमति प्रदेश संसदीय दलका नेता समेत रहेका थपलियाले नेपालको निर्यात कमजोर अवस्थामा रहेको र आयात बढेको बताउँदै आयात घटाउन र निर्यात बढाउन आवश्यक रहेको बताए ।
नेपालको अर्थतन्त्र काबु बाहिर नगएको तर वैदेशिक अर्थतन्त्रको तरलताले समस्या पारेको बताए । उनले हरेक नागरिकलाई फजुल खर्च कटौती गर्दै मितव्ययीता अपनाउदै उत्पादनमा जोडिन आग्रह गरेका छन । ‘अर्थतन्त्र नियन्त्रणमा छ र चलाएमान बनाउन लाग्नुपर्छ,’ उनले भने, ‘तीन तहका सरकारको समन्वयमा विकासलाई तिव्र गतिमा अगाडी बढाउन आवश्यक छ ।’
उनले चियावारी खुर्कोट सुरुङ मार्ग, मरिण डाईर्सन बहुउद्देश्यीय आयोजना, सिन्धुलीगढी संग्रहालय निर्माण, सिन्धुलीगढी रानी दरबार निर्माण लगाएतका काम एमालेको सरकारका पालमा सुरु भएको बताए ।
सिन्धुली जिल्लाको विकासमा आफु र आफ्नो पार्टीको तर्फबाट सक्दो प्रयास गरिरहने समेत थपलियाले प्रतिवद्धता जनाए । थपलियाले नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुसँग समेत छलफल गरेका छन । एमालेका नेताहरुले संसदीय निर्वाचन पछि विकासका कामले गति लिन नसकेको बताए ।






















