सिन्धुली । तीनपाटन गाउँपालिका सिन्धुलीको आयोजनामा पालिकाका महिला जनप्रतिनिधिहरुलाई चार दिने नेतृत्व विकास तालिम दिन थालिएको छ । शनिबारदेखि गाउँपालिकाको कार्यालय चकमकेमा तालिम सुरु भएको हो ।
गाउँ कार्यपालिकाका सदस्यहरु, वडाका महिला तथा दलित महिला सदस्यहरुलाई गाउँपालिकाले तालिम दिन सुरु गरेको हो ।
जनप्रतिनिधि महिलाहरुलाई नेतृत्व कसरी गर्ने ? वडाका विकास निर्माण तथा पालिकाका विकास निर्माणमा कसरी नेतृत्वदायी भूमिका खेल्ने, अनुगमन, नियमन कसरी गर्ने ? आफ्ना विचार र प्रस्तुतिहरु कसरी राख्ने ? नागरिकका गुनासा सम्बोधनमा महिला जनप्रतिनिधिले कसरी भूमिका खेल्ने ? लगाएतका विषयमा तालिम दिईने छ ।
साथै लैंगिक समानता, मानवअधिकार लगाएतका सवालमा समेत उनीहरुलाई तालिम दिईने गाउँपालिकाले जनाएको छ ।
तालिमको उद्घाटन गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर थापाले गरेका छन । तालिमको उद्घाटन गर्दै अध्यक्ष थापाले महिला जनप्रतिनिधिले नेतृत्व विकास गरि गाउँसभा, गाउँकार्यपालिका र वडाहरुमा नेतृत्व गर्ने विश्वास व्यक्त गरे ।
गाउँपालिका उपाध्यक्ष अशोक पुलामीको अध्यक्षतामा भएको तालिममा महिला अधिकारकर्मी पार्वती भट्टराई र पत्रकार तथा मानवअधिकारकर्मी बिमला पाण्डेले सहजीकरण गरिरहेका छन ।





















