सिन्धुली । नेकपा एमालेका केन्द्रीय सदस्य प्रभा बरालले नेकपा एमालेभित्र गुट नरहेको र गुटबन्दी गर्नेहरु आफै सकिदै जाने बताएकी छिन । १० औं राष्ट्रिय महाधिवेशनपछि गुटको अन्त्य भएको भन्दै व्यक्तिगत झुण्ड बनाएर गुटबन्दी गर्नेहरु सकिने बताएकी हुन ।
मंगलबार नेकपा एमालेले चलाएको मिसन ग्रास रुट अभियानको कमलामाई नगरस्तरीय अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन ।
उनले पार्टी भित्र व्यक्तिगत स्वार्थका कारणले भएका सानातिना विवाद द्वन्द्वात्मक भौतिकवादको सिदान्तबाट समाधान गरिनुपर्ने बताइन ।
मिसन ग्रासरुट अभियान अन्तर्गत कमलामाई नगरपालिका स्तरीय संगठन सुदृढिकरण र विस्तार अभियानको कार्ययोजना निर्माण गर्नका लागि भएको कार्यक्रमलाई सम्बोधन गर्दै बरालले कार्यकर्ताको मनोभावना र जनताको आवश्यकता र आकांक्षा अनुसार काम गर्न निर्देशन समेत गरेकी छिन ।
अभियानका क्रममा जनताका समस्यासँग सिधै जोडिनु र समस्या समाधान गर्न योजना बनाउन पनि उनले आग्रह गरेकी छिन ।
बरालले धानको विउ समेत नराखी भात खान खोज्ने प्रवृति विकास भएको बताउँदै सामाजिक, आर्थिक रुपान्तरणमा अगाडि बढ्न आग्रह गरिन ।
नेकपा एमाले कमलामाई नगर कमिटीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य, सिन्धुली जिल्ला सहइन्चार्ज उमा कोइरालाले कसैलाई आक्षेप लगाउने, कार्यकर्तालाई गाली गलौज गर्ने, अपमान गर्ने काम नगर्न र सबै कार्यकर्तालाई समान रुपमा व्यवहार गर्न पार्टी नेतृत्वलाई आग्रह गरिन । उनले कार्यकर्ताको भावना बुझेर पार्टी संगठनका काम अगाडि बढाउन सुझाव दिएकी छिन ।
कमलामाई नगर कमिटीको विस्तारित बैठकका रुपमा समेत लिईएको कार्यक्रममा वडा कमिटीका बैठकहरु तय गरिएको छ । साथै अभियानलाई अगाडि बढाउन सबै नेता तथा कार्यकर्ताहरुलाई निर्देशन समेत गरिएको छ ।





















