सिन्धुली । सिन्धुलीको मुख्य बजार सिन्धुलीमाढीमा विहिबार दिउँसो कुकर बम फेला परेको छ । एसपीको क्वाटर र डिएपी क्वाटरको करिब २० मिटर नजिक बम फेला परेको हो । सिन्धुलीमाढीको २ नं. बजार अर्थात नेपाल पत्रकार महासंघसँग जोडिएको खाली जग्गामा बम भेटिएको हो ।
स्थानीय शान्तीमान कार्कीको खाली जग्गामा उक्त बम भेटिएको र नेपाली सेनाको वर्द बहादुर गणको डिस्पोजल टोलीले उक्त बम डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपि चिरन्जीवि दाहालले बताए ।
उनका अनुसार कुकरभित्र उच्चकोटीको जियोजिल नाईन्टी नामको विस्फोटक पदार्थ रहेको थियो ।
नेपाली खाली जग्गा सफा गर्ने क्रममा तारसहितको कुकर भेटेपछि जग्गाधनी कार्कीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीको टोलीले तत्काल सुरक्षा दिएको थियो । उक्त बम २, ३ वर्ष अगाडि राखिएको अनुमान गरिएको छ ।
बम डिस्पोज गर्न नेपाली सेनालाई २ पटक प्रयास गर्नुपरेको थियो । बम प्रहरीलाई लक्षित गरि राखिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।





















