सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले आफ्नो सेवा प्रवाहको विषयमा नागरिक सर्वेक्षण गरेको छ । प्रहरीले २ सय जना नागरिकमा गरेको सर्वेक्षणले सेवा प्रवाहमा सुधार गर्नुपर्ने तथ्य देखाएको छ ।
सर्वेक्षणमा ४८ प्रतिशतले प्रहरीमा एक्लै जाँदा सेवा नपाएको गुनासो गरेको सर्वेक्षणले देखाएको छ । एक्लै प्रहरी कार्यालय जादा सेवा पाइन्छ भन्ने प्रश्नमा ४८ प्रतिशतले पाइदैन भनेर जवाफ दिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालले बताएका छन । ५० प्रतिशतले एक्लै जाँदा पनि सेवा पाएको बताएका छन भने २ प्रतिशत ले थाहा छैन भनेका छन ।
सर्वेक्षणमा प्रहरीको आचरण कस्तो छ भनि सोधिएको प्रश्नमा ६० प्रतिशतले राम्रो छ भनेका छन् भने २० प्रतिशतले खराब र २० प्रतिशतले ठिकै छ भन्ने जवाफ दिएका छन् ।
प्रहरी कार्यालयबाट हुने सेवा प्रवाहमा नागरिक कतिको सन्तुष्टि छन् भन्ने बुझ्नको लागि सर्वेक्षण गरिएको एसपी सिलवालले बताए ।
सर्वेक्षणमा प्रहरीको सेवाको स्तर कस्तो छ भन्ने प्रश्नमा ६३ प्रतिशतले राम्रो भनेका छन् भने ३० प्रतिशतले ठिकै र ७ प्रतिशतले खराब भनेका छन् ।
प्रहरी कार्यलयमा कसरी जानुहुन्छ भन्ने सर्बक्षणमा ५५ प्रतिशतले एक्लैे जान्छु भनेका छन् भने ९ प्रतिशतले अहिलेसम्म नगएको र ३६ प्रतिशतले कोहि साथमा लिएर जान्छु भन्ने जवाफ दिएको सिलवालले बताए ।
उनका अनुसार अहिलेसम्म पनि एक्लै सेवा लिन कार्यालयमा आउने बातावरण नबनेको पाईएको बताए ।
सर्वेक्षणको तथ्यांकलाई केलाएर कमजोरी भएका पक्षमा सुधार गरेर सेवा प्रवाह गरिने प्रहरी प्रमुख सिलवालले बताए ।
नागरिक सहायता कक्षबाटै एसपीको सेवा
सर्वेक्षण तथ्यले नागरिकको पहुँच प्रहरी सेवामा कम देखाएपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख राज कुमार सिलवालले आफ्नो कार्यकक्ष छोडेर नागरिक सहायता कक्षबाटै सेवा दिन थालेका छन ।
सेवाग्राहीको पहुँच कार्यालय प्रमुखसम्म नपुग्दा तल्लो तहका प्रहरीहरुले अनाहकमा नागरिकलाई दुःख दिएको पाईएपछि नागरिक सहायता कक्षबाट सेवा दिन थालेका हुन ।
सामान्य काममा पनि पटक पटक प्रहरी कर्मचारीले दुःख दिएको पाईएपछि नागरिकको पहुँच पुग्ने गरि नागरिक सहायता कक्षमा बसेर सेवा दिन थालेको एसपी सिलवालले बताए ।
उनले भने, ‘पहुँच हुनेले मात्रै मलाई भेट्न पाउने तर सामान्य नागरिकको पहुँच नपुगने भएपछि नागरिक सहायता कक्षमै बस्न थालें ।’ आफु नागरिक सहायता कक्षमा बस्दा अपांगता भएका व्यक्ति तथा असहायहरुलाई समेत सहज हुने उनले बताए ।
‘प्रत्यक्ष भेटेर नागरिकको गुनासो सुन्न र सेवा प्रवाह प्रभावकारी र पारदर्शी बनाउनका लागि नागरिक सहायता कक्षबाट सेवा प्रवाह गर्न लागेको हुँ’, सिलवालले भने । उनले सेवाग्राही बढी आउने दिनमा दिनभर नै नागरिक सहायता कक्षमा बसेर सेवा दिने गरेको बताए । केहि प्रहरी कर्मचारीले खाजा खर्च समेत माग्ने गरेको गुनासो आएकाले पनि प्रहरीकै निगरानी गर्न समेत बसाई परिवर्तन गरेको सिलवालले बताए ।





















