सिन्धुली । अपांगता भएका व्यक्तिहरु केहि गर्न सक्दैनन भन्ने सामाजिक मान्यतालाई चुनौती दिदैं अपांगता भएका व्यक्तीहरुले आफ्नो कलालाई म्युजिक भिडियोमा प्रस्तुत गरेका छन । गीत, संगित र मोडलिङ सबै अपांगता भएका व्यक्तिहरुले गरेर तयार पारेको म्युजिक भिडियो हो ‘मायाको डोरी’ ।
अपांगता भएका व्यक्तिले अरुलाई मनोरञ्जन दिन सक्दैनन भन्ने सामाजिक मान्यतालाई समेत चिर्न यो एल्वम निकालिएको म्युजिक भिडियोकी मोडल दिपा देवकोटाले बताएकी छिन ।
स्पाईनल इन्जुरीका कारण शारीरिक अपांगता भएकी देवकोटा लामो समयदेखि सामाजिक अभियानमा लागेकी छिन । अपांगता भएका व्यक्तिहरुको सेवामा सामाजिक संस्था सिन्धुली अपांग महिला संघ स्थापना गरि अगाडि बढेकी देवकोटासँग शारीरिक अपांगता भएका रविन्द्र पन्तले अभिनय गरेका छन । सिन्धुलीकी देवकोटा ह्विल चेयर डान्सर, ह्विल चियर बास्केटवल खेलाडी समेत हुन ।
मायाको डोरीको गीत लेखन लो भिजनका विरु कमल श्रेष्ठले गरेका हुन । दृष्टिविहिन गगन आलेले उक्त गीत गाएका छन । म्युजिक भिडियोको निर्देशन विरु कमल श्रेष्ठले गरेका छन भने म्युजिक भिडियोको प्रोडुसर पनि श्रेष्ठ हुन ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा उक्त म्युजिक भिडियो छायाँकन गरिएको हो । म्युजिक भिडियोको छायाँकन काठमान्डौका जोरपाटी, लवडाँडा, गौशाला पार्क, होटल हार्दिक र एअरपोर्ट क्षेत्रमा गरिएको देवकोटाले बताईन ।
यो म्युजिक भिडियो अपांगता भएका व्यक्तिहरुका लागि समेत प्रेरणादायी हुने विश्वास लिईएको देवकोटाले बताईन । उक्त भिडियो युटुव मार्फत सार्वजनिक गरिएको छ ।





















