सिन्धुली । नाम : लोक बहादुर बानियाँ क्षत्री । उमेर : ७० वर्ष । घर : गोलञ्जोर गाउँपालिका वडा नं. ५ हिर्दिङ सिन्धुली । हालको परिचय : सफल मुढा उद्यमी तथा प्रशिक्षक । जोश जाँगर : युवाको जस्तो ।
हिर्दिङका लोक बहादुर बानियाँ (७०) ले मुढा बुन्न थालेको ३१, ३२ वर्ष भयो । घरमै आधुनिक लोक मोढा उद्योग सञ्चालन गरेका उनी मुढा उद्यमी मात्र हैनन कुशल मुढा प्रशिक्षक पनि हुन । घरेलु तथा साना उद्योग विकास कार्यालयले उनलाई प्रशिक्षकको रुपमा समेत परिचालन गरिरहेको छ ।
घर गाउँमै रहेका बाँसजन्य सामग्रीको प्रयोग गरेर बानियाँले मुढा बुन्छन । गाउँघरमै बेच्छन । नत बजारको समस्या छ न आम्दानीमा कमी । उनले कम्तिमा मासिक ३०, ३५ हजार रुपैंया मुढा बुनेरै कमाउँछन । बाँस र प्लाष्टिकको डोरी प्रयोग गरि उनले मुढा लगाएतका अन्य सामग्री समेत बनाउँछन । प्लाष्टिकको डोरी भारतको दिल्लीबाट ल्याउँछन । बाँस गाउँमै पाइन्छ । मुढा, डाईनिङ सेट मुढा, टोकरी, बास्केट जस्ता सामग्री विशेष गरि उनले बनाउँदै आएका छन ।
उनी युवा उमेरमा धन कमाउन, परिवार पाल्न भारतको नागाल्याण्ड गएका थिए । त्यहाँ उनले नागाल्याण्डमा स्टेट पुलिसको जागिर खाए । २१ वर्ष पुलिसमा जागिर खाएपछि अवकाश पाए । २०६४ सालमा अवकाश जीवन विताउन नेपाल फर्केका बानियाँ फुर्सदमा भने बसेनन । जागिरमा रहदा साथिहरुले मुढा बुनेको हेरेर बानियाँले मुढा बनाउन सिकेका थिए । त्यहि जागिरमा सिकेको सिप गाउँमा फर्केपछि प्रयोग गर्न थाले ।
उनको सिपलाई घरेलु तथा साना उद्योग विकास कार्यालय सिन्धुलीले प्रवद्र्धन ग¥यो । प्रमाणित प्रशिक्षक बनायो । बानियाँ अहिले प्रशिक्षकका रुपमा धेरै जिल्लामा पुगेका छन । उनले करीव ४ सय जनालाई मुढा बुन्ने सिप सिकाएका छन । तालिम दिने सिलसिलामा उनी सिन्धुली जिल्ला बाहेक पर्वत, गुल्मी, म्याग्दी, मुस्ताङ, तनहुँ लगाएतका जिल्लामा पुगिसकेका छन ।
बानियाँले २४ हजार ५ सय पेन्सन बुझ्छन । कम्तिमा ३०, ३५ हजार मुढा व्यवसायबाट कमाउँछन । नत पैसाको कमी छ उनलाई न त जोश जाँगरकै कमी ।
एउटा ठूलो मुढा बुन्न उनलाई २ दिन लाग्छ, सानो मुढा बुन्न १३ घण्टा । चारवटा मुढा सहितको डाईनिङ सेट बनाउन १० दिन लाग्छ । बास्केट, टोकरी एकै दिनमा बुन्न सक्छन उनी ।
उनका सामग्रीको मुल्य पनि निर्धारित छ । बानियाँले मुढाको डाईनिङ सेट १७ हजार ५ सय, सानो मुढा ९ सय, ठूलो मुढा १२ सय, बास्केट र टोकरीलाई ९ सयमा बेच्छन ।
उनको ७ जनाको परिवार छ । छोराले दुध डेरीमा काम गर्छन, श्रीमति र बुहारी खेतिपाती, घरधन्दा र वस्तुभाउका साथै घर व्यवहार चलाउँछन । २ नाती र १ नातीनि स्कुलमा पढ्छन । सुखी र खुशी छ बानियाँको परिवार । घरेलु तथा साना उद्योग विकास समितिका माधव बगालेले बानियाँ जिल्लाकै कुशल प्रशिक्षक रहेको र पाको उमेरका उर्जाशिल उद्यमी रहेको बताए ।





















