सिन्धुली । कमलामाई नगरपालिका ४, ढकालगाउँमा रहेको जर्वुट्टा कला संग्रहालय जिल्लाको पर्यटन विकासमा महत्वपूर्ण हेर्न लायक ठाउँमा पर्न थालेको छ । रुखका नास भएका जराहरुमा कला भर्ने जिल्लाका एकल जर्वुट्टा कलाकार विश्वम्भर लामिछानेको कला संग्रहालय पर्यटक लोभ्याउने आकर्षित ठाउँमा पर्न थालेको हो । लामिछानेको एकल प्रयासमा जन्मिएका करीब अढाई सय कलाहरु पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण बन्दै गएका छन ।
सिन्धुलीगढी पछिको उचित गन्तव्यका रुपमा यो कलाले स्थान लिईरहेको छ । लामिछानेका कलामा कला मात्र बोल्दैनन, सामाजिक, राजनीतिक, साहित्यीक, ऐतिहासिक, प्राकृतिक, धार्मिक, सांस्कृतिक विषयवस्तु समेत झल्काउँछन । अरुले दाउरा देख्ने रुखका जरामा उनले कला देख्छन, घरमा ल्याउँछन र सखारेर कला बनाउँछन ।
पहिलो कला २०४८ सालमा बनाएका लामिछानेले लामो समय कला निर्माणलाई रोक लगाए । त्यहि कला निर्माणलाई जनयुद्धको चरम उत्कर्षका बेलाको वेरोजगारीको समयलाई सदुपयोग गर्दै निरन्तरता दिए । कानुन व्यवसायी लामिछाने व्यवसायमा कमी आएसँगै फुर्सदिला बने । फुर्सदको समयलाई सदुपयोग गर्दै कला निर्माणमा निरन्तरता जुटिरहे । हाल पनि उनी कला निर्माणमै तनमन लगाई रहन्छन ।
उनको एकल प्रयासले निर्माण भएका ती कला हेर्न लाखौं पर्यटक आकर्षित भईरहेका छन । जिल्लाका नगन्य हेर्न लायक स्थानमध्ये एक गन्तव्यमा लामिछानेको संग्रहालय बन्न पुगेको छ । संग्रहालयका कला निर्माणमा उनले ३१ वर्ष समय विताईसकेका छन । कला निर्माणमा परिवारको पनि साथ, हौसला छ लामिछानेलाई ।
यो कला हेर्न हालसम्म ३२ लाख आन्तरिक तथा बाह्य पर्यटक संग्रहालयमा उपस्थित भएका छन । ५३ देशका नागरिकले यो संग्रहालय अवलोकन गरेका छन । यो नेपालकै लागि नौलो कला पनि हो । यो कला संग्रहालय हेर्ने पर्यटकहरुले निःशुल्क हेर्न पाउँछन । बाँसका जराबाट कला बनेका छन तर रुखका उखेलिएका जराबाट बनेको यो दुर्लभ कला पनि भएको दावी कलाकारको छ ।
कलाको प्रचार प्रसारमा सञ्चार क्षेत्रको मुख्य योगदान रहेको लामिछानेले स्मरण गर्छन । कला निर्माणका बेलाको दुःख सम्झदै लामिछाने भन्छन, ‘श्रीमति प्रसिद्धा शर्माको शिक्षकको तलब मासेर कला सिंगार्ने रङ तथा आवश्यक सामग्री किनेको छु ।’
जर्वुट्टा कलाका बारेमा कमलामाई नगरपालिकाले स्थानीय पाठ्यक्रममा समेटेको छ । जसका कारण बालबालिकाहरु कलासंग्रहालयमा भ्रमण आउँछन । जिल्ला बाहिरका विद्यालयहरुले समेत कला संग्रहालय अवलोकन गराउन ल्याउँछन । प्रदेश सरकारले ५० लाख रकम विनियोजन गरेर संग्रहालय भवन निर्माण गरेको छ । केहि आवश्यक फर्निचर नपुगेका कारण लामिछानेको घरमा रहेको संग्रहालयका कला भवनमा सार्न सकिएको छैन ।
कलाका कारण लामिछानेलाई संविधान दिवस २०७९ का अवसरमा जनसेवाश्री पदकले सरकारले सम्मान समेत गरेको छ ।
संग्रहालय व्यवस्थापन गर्नका लागि संस्थागत व्यवस्था गरिएको छ । जर्वुट्टा कला केन्द्र सिन्धुली नाम दिईएको गैह्रसरकारी संस्था २०७८ साउनमा दर्ता गरि काम अगाडि बढेको छ । संस्थाले पहिलो साधारणसभा तथा अधिवेशन समेत सम्पन्न गरेको छ ।























