सिन्धुली । सिन्धुलीमाढीमा सञ्चालनमा रहेको छैठौं सिन्धुली महोत्सवको मूल गेट प्रवेश गर्नासाथ सबैको पहिलो स्टलमा आँखा पुग्छ । जहाँ डमीमा लगाईएका विभिन्न जातजातीको पहिरन तथा गरगहना देखिन्छ । जहाँ बालबालिका, युवा, महिला, जेष्ठ नागरिकहरुले अवलोकन गरिरहेका हुन्छन । स्टलमा रहेका केहि व्यक्तिले त्यसको बारेमा जानकारी गराईरहेका हुन्छन ।
नेपाल आदीवासी जनजाती महासंघ सिन्धुलीले यो स्टल लिएको हो । जहाँ सिन्धुलीमा रहेका १० जनजातीको पहिचान र भेषभुषाबारेमा जानकारी दिइन्छ ।
अध्ययनका लागि कुनै शुल्क लाग्दैन । स्थानीय कला संस्कृति र भेषभूषालाई प्रचार प्रसार गर्ने उद्देश्यले आयोजना गरिएको सिन्धुली महोत्सवको यो महत्वपूर्ण स्टल बनेको छ ।
जहाँ नयाँ पुस्ताका युवा बालबालिकाहरुले अवलोकन गरिरहेका छन र जात जातीको बारेमा अध्ययन गरिरहेका छन । स्टलमा नेवार, मगर, थामी, दनुवार, सुनुवार, भुजेल, तामाङ, राई, हायु, गुरुङ लगाएतका जातीहरुको भेषभुषाहरु प्रदर्शनी गरिएको छ ।
नेपाल आदीवासी जनजाती महासंघले सञ्चालन गरेको जनजाती संग्रहालयले यो प्रदर्शनी गरेको हो ।
जनजातीहरुको भेषभुषा, संस्कृति र पहिचानलाई नयाँ पुस्तालाई चिनाउनका लागि स्टल राखिएको जनजाती नेता रमेश भुजेलले बताए ।




















