सिन्धुली । सिन्धुली अस्पतालको फोहोर व्यवस्थापन गर्न अब बाहिर जानु नपर्ने भएको छ । अस्पतालले स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्रको स्थापना गरेसँगै अस्पतालको फोहोर व्यवस्थापनको समस्या हल भएको हो ।
बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरि अस्पतालले स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्रको सुरुवात गरेको छ ।
नेपाल सरकारका स्वास्थ्य सचिव डा.पोखरेलले उक्त केन्द्रको उद्घाटन गरेका छन । केन्द्रको उद्घाटन गर्दै पोखरेलले अस्पतालले क्रमिक रुपमा सेवा सुविधा विस्तार गर्दै आएकोमा खुशी व्यक्त गरेका छन ।
सिन्धुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रलाद कुमार पोखरेलको अध्यक्षतामा केन्द्रको उद्घाटन गरिएको हो ।
अस्पताल विकास समितीको करीब ३८ लाख लगानीमा केन्द्रको भवन बनेको छ । फोहोर व्यवस्थापनको लागि मेसिनको व्यवस्थापन छ ।
अस्पताल भित्र उत्पादन हुने फोहोर व्यवस्थापनका लागि फोहर निर्मलीकरण गर्ने मेसिन (अटोफ्लेप मेसिन) राखिएको छ साथै फोहोरलाई छुट्याएर राख्ने ¥याक भवनमा जडान गरि सकिएको छ ।
फोहोर व्यवस्थापनका लागि अस्पतालले २ जना कर्मचारी सञ्जीव कुमार मेस्तर र पवन कुमार मेस्तरलाई दक्ष बनाईएको छ । तालिम प्राप्त ती कर्मचारीले फोहोर व्यवस्थापनको सबै काम गर्ने छन । अस्पतालको वार्ड नै पिच्छे रहने फोहोर व्यवस्थापनका कर्मचारी समेत कम लाग्ने भएको छ । वार्डमा फोहोरको वर्गिकरण गर्न वार्ड स्टाफहरुले नै सहजीकरण गर्नेछन ।
अस्पतालको फोहोर व्यवस्थापन केन्द्र सञ्चालन भएपछि जिल्लाका अन्य क्लिनिक, स्वास्थ्य चौकीका फोहोर समेत निर्मलीकरण गर्न सकिने भएको छ । अस्पतालभित्र ८ खालको फोहोर हुने र ती फोहोरलाई निर्मलीकरण गरि मोहरमा बदलिने समेत अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलले बताएका छन ।
अस्पतालाई मेसिन, ¥याक लगाएतका सामग्री प्लान नेपालसँगको साझेदारीमा काठमान्डौको हेल्थ इन्भाइरन्मेन्ट एण्ड क्लाईमेट एक्सन फाउन्डेसन (हेक्याप ३६०) नामक संस्थाले गरेको हो । संस्थाले जनशक्तिलाई समेत तालिम प्रदान गरेको छ । उक्त संस्थाले फोहोर व्यवस्थापनमा एक करोड बढी लगानी गरेको छ ।
मेसिन २४ सै घण्टा चलाउन सकिने छ । १२१ डिग्री तापक्रममा मेसिनमा फोहोर तताईन्छ र ३५, ४० मिनेट राखेर निकालिन्छ । त्यसपछि संक्रमण रहित सामग्रीको वर्गिकरण गरेर विक्री गरिन्छ । यसरी निर्मलीकरण भएर उत्पादन भएको उक्त फोहोर लगानीकर्ता हेक्यापले नै पुनः किनेर लाने सम्झौता भएको पोखरेलले बताए ।
अस्पतालजन्य फोहोरलाई निर्मलीकरण गर्नका लागि सुद्ध पिउने पानी चाहिने भएकाले रिलिफ नेपालको सहयोगमा पानी छान्ने फिल्टर समेत जडान गरिएको छ ।
पोखरेलका अनुसार अब ५ प्रतिशत फोहोर मात्र नगरपालिकाको गाडीमा पठाईने र अरु बाँकी फोहोर व्यवस्थापन आन्तरिक रुपमै हुनेछ ।
जसका कारण अस्पतालजन्य फोहोरबाट हुने संक्रमण कम हुने, फोहोरको पुनः प्रयोग हुने र जताततै निडिल सहितका फोहोर फालेर डम्पिङ साईडमा हुने जोखिम समेत कम हुने भएको छ ।





















