सिन्धुली । दुग्ध विकास वोर्डका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद यादवले दुध उत्पादन पेशा मर्यादित व्यवसाय भएको भन्दै उनले यसलाई अझ मर्यादित र व्यवस्थित बनाउने किसान लागि पर्नुपर्ने बताए ।
दुग्ध विकास वोर्डले किसानको संरक्षण, प्रोत्साहन र समस्याहरु तथा अधिकारको वकालत गर्दै आएको भन्दै उनले आपसी हातेमालोले दुग्ध व्यवसायलाई जीवन उपयोगी तथा हजारौंका लागि रोजगारीको अवसर प्रदान गर्ने व्यवसाय वनाउन सकिने औंल्याए ।
यादवले बुधबार सिन्धुलीमाढीमा बोर्डले आयोजना गरेको दुधालु गाई भैसीको आहार व्यवस्थापन सम्बन्धि तीनदिने तालिमको समापन गर्दै यस्तो बताएका हुन ।
यादवले नेपालको कुल ग्राहस्थ उत्पादनको ९ प्रतिशत दुग्ध तथा दुग्ध जन्य पदार्थमा निर्भर रहेको बताए । उनले धान खेतिपछि दोस्रो स्थान दुधले ओगटेको बताए ।
कार्यक्रममा कमलामाई नगरपालिका पशु विकास शाखाका प्रमुख रोशनराज कोईरालाले कमलामाई नगरपालिकाले किसानलाई प्रोत्साहित गर्न सुत्केरी पशुका लागि पोषण भत्ता स्वरुप २ हजार उपलव्ध गराउने गरेको वताए । उनले नगरपालिकाले अनुदानको कार्यक्रम समेत सञ्चालन गरेको बताए । नगरले मौसमी घाँसको विउ वितरण गर्दै आएको समेत जानकारी दिए ।
कमलामाई नगरपालिकाको वडा नं. ५ मा पशुमा टेष्ट्युव वेवी कार्यक्रम सञ्चालन गरेको वताउँदै उनले सो कार्यक्रम नगरका सवै वडामा पु¥याउने जानकारी दिए । हेफरको सहयोगमा कमलामाई नगरपालिकामा एक सय वटा उन्नत जातका गाई किसानलाई वितरण गर्ने कार्यक्रम समेत रहेको कोईरालाले जानकारी दिए ।
जिल्ला सहकारी संघका अध्यक्ष नवराज कोईरालाले जिल्ला सहकारी संघले दुग्ध सहकारीहरुसँग हातेमालो गरेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले किसान, व्यवसायी र वजारको तालमेल मिलेमा मात्र दुग्ध व्यवसाय फस्टाउने बताउँदै सो कार्यका लागि जिल्ला संघले पहल गर्ने बताए ।
कार्यक्रममा तालिमका सहभागिका तर्फवाट रामेछापका किसान ध्रुव कुमार थापाले पशुपालनका लागि घाँस तथा दानको अभाव र वजार प्रवर्धन गर्न नसकेका कारण व्यवसाय समस्यामा परेको बताए । उनले ढुवानीको समस्या समेत औंल्याए ।
सहभागि किसान तुलसी प्रसाद गौतमले पशुका लागि प्रयोग गरिने दाना स्थानीय रुपमा उत्पादन गर्न सकेमा किसानले सहज पशुपालन गर्ने वताए । उनले हाल प्रयोग गरिने पशुदाना कहिले वनेको हो, कति दिन सम्म प्रयोग गर्न मिल्ने हो । त्यसको वारेमा किसानलाई जानकारी नहुने हुदा म्याद नाघेका दान प्रयोगले दुध उत्पादन घट्ने र पशु रोगी हुने गरेको वताए ।
सोमबारदेखि बुधबारसम्म सञ्चालित तालिममा सिन्धुली, रामेछाप र महोत्तरीका २५ जना गाई भैंसी पालक किसानहरुको सहभागिता रहेको थियो । दुग्ध विकास वोर्डका कार्यकारी निर्देशक यादवको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । कम लगानीमा कसरी दुध उत्पादन बढाउन सिकाउन तालिमको आयोजना गरिएको र तालिम फलदायी हुने तालिमका प्रशिक्षक वालक चौधरीले बताए ।





















