सिन्धुली । जिल्लामा पछिल्लो समय डेंगुका विरामी बढेका छन । असारदेखि यता सिन्धुली अस्पतालमा डेंगुका विरामी देखिएको सिन्धुली अस्पतालले जनाएको छ । लामखुट्टेको टोकाईबाट लाग्ने उक्त रोगका १८ जना विरामी भेटिएको सिन्धुली अस्पतालले जनाएको छ । २ जना बालबालिका सहित १८ जनामा यो रोगको संक्रमण देखिएको सिन्धुली अस्पतालका डा. सागर देवकोटाले बताएका छन । उनका अनुसार धेरैजसो २० देखि ४० वर्षका विरामीहरुमा यो रोग देखिएको छ ।
असार महिनामा ६ जनामा देखिएको डेंगु साउनको पहिलो सातामा त्यसको दोब्बर संख्यामा देखिएको अस्पतालले जनाएको छ । साउनमा १२ जनामा संक्रमण पोजेटिभ देखिएको डा.देवकोटाले बताए । डेंगु प्रभावित हुनेमा १० जना पुरुष र ६ जना महिला रहेको पनि उनले बताए ।
डा. देवकोटाका अनुसार कमलामाई नगरपालिकाको वडा नं. ६ मा सबैभन्दा बढी विरामी भेटिएका छन । नगरपालिकाको सदरमुकाम क्षेत्रका अन्य वडामा पनि विरामी भेटिएका छन । जिल्लाको मरिण गाउँपालिकामा पनि डेंगुका विरामी देखिएका छन ।
अस्पतालमा ज्वरो आउने, जिउ दुख्ने, वाकवाकी लाग्ने, हातखुट्टा दुख्ने, पेट दुख्ने विरामी देखिएसँगै अस्पतालले डेंगु परिक्षण गरेको थियो । विरामी भएकामध्ये २ जनालाई थप उपचारका लागि काठमान्डौ रिफर गरिएको छ भने अन्यको सिन्धुली अस्पतालमै उपचार गरिएको छ ।
अस्पतालका अनुसार अस्पतालमा दैनिक ३०, ३२ जना ज्वरो लगाएतका डेंगुसँग मिल्दो जुल्दो लक्षण भएका विरामी उपचारका लागि आउने गरेका छन । अस्पतालले डेगुको शंका लागेका विरामीलाई डेंगु परिक्षण गर्दै आएको छ ।
यसैगरि अस्पतालमा डेंगुका विरामी बढ्दै गएमा केहि स्टोर रहेको डेंगु परिक्षणको किट्सको कमी समेत हुन सक्ने अस्पतालले जनाएको छ । ‘अहिलेलाई केहि किट्स स्टोरमा छ तर यसरी नै विरामी बढ्ने हो भने परिक्षण किट्सको अभाव हुन सक्छ’, डा. देवकोटाले भने ।
‘विगतका वर्षहरुमा दुई चार जना विरामीमा मात्र डेंगु देखिने गरेको थियो । यो पटक त्यो संख्या ह्वात्तै बढेको छ’ – देवकोटाले भनेका छन । उनका अनुसार डेंगु लागेका विरामीमा व्लड प्रेसर एकदमै कम हुने, व्लडमा प्लेटनेटर कम देखिने गरेको छ ।
डेंगु एडिस लामखुट्टेको टोकाईबाट लाग्ने पनि देवकोटाले बताएका छन । उनले विहान साँझमा लामखुट्टे सक्रिय हुने र लामखुट्टेको टोकाईबाट जोगिनुपर्ने सुझाव समेत दिएका छन ।




















