सिन्धुली । नेपाल पत्रकार महासंघ सिन्धुलीका साधारण सदस्य एवम् प्रेस चौतारी नेपाल सिन्धुलीका पूर्व संयोजक वुद्ध कुमार आछामीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई सिन्धुलीमाढीमा बाटोमा हिड्दै गर्दा प्रहरीले पक्राउ गरेको हो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आउने कार्यक्रममा समाचार संकलनका लागि जान लागेका आछामीलाई प्रहरीले विहान साढे ११ बजे पक्राउ गरेको हो ।
उनलाई फेसबुकमा लेखिएका स्टाटसको आधारमा पक्राउ गरिएको हो । आछामीले शुक्रबार राती ‘भोली सिन्धुलीमा प्रचण्डलाई सहिद परिवारको तर्फबाट कालो झण्डा देखाउने कार्यक्रममा सहभागि बनौं’ भन्ने स्टाटस लेखेका थिए । यस्तै उनले अर्को स्टाटस – पुष्पकमल दाहाललाई प्रचण्ड बनाउन बलिदान गर्ने परिवारका कथा व्यथा चैतेहरुलाई कहाँ थाहा छ र ? समेत लेखेका थिए ।
आछामीलाई प्रहरीले प्रचण्ड हेलिकप्टरमा आउनु अघि नै पक्राउ गरिसकेको थियो । पत्रकार आछामीको पक्राउलाई लिएर सिन्धुली लगाएत देशभर विरोध भएको छ । पत्रकार पक्राउ गरेर अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गरेको सञ्चारकर्मीहरु तथा आम नागरिकले जनाएका छन ।
आछामीको गिरफ्तारीलाई लिएर प्रेस चौतारी नेपाल केन्द्रीय कार्यालय, प्रेस चौतारी नेपाल बाग्मति प्रदेश लगाएतका संघसंस्थाहरुले विरोध जनाएका छन । उनीहरुले पत्रकारमाथि हस्पतक्षेप बन्द गर्न र विना सर्त आछामीलाई रिहाई गर्न माग गरेका छन । आछामी जनयुद्धकालमा परिवारका सदस्य गुमाएका सहिद परिवार समेत हुन ।
नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कृष्णहरि घिमिरे लगाएतका जिल्लाका पत्रकारहरु रिहाईको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा गए पनि आछामीलाई प्रहरीले रिहाई गरेको छैन ।





















