सिन्धुली । सिन्धुलीमा एकैदिन १ सय ३३ जनाले कोरोना जितेका छन । होम आइसोलेसन तथा संस्थागत आईसोलेसनमा उपचार गराईरहेका ३८ महिला र ९५ जना पुरुषले कोरोना जितेका हुन ।
दोस्रो लहरको संक्रमणको अवधिमा बुधबार जिल्लाको सबैभन्दा बढी संख्यामा संक्रमितले कोरोना भाईरस पराजित गरेका हुन । यो सँगै जिल्लामा हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या ४ सय ६८ पुगेको छ । जसमा महिला १ सय ६० र पुरुष ३ सय ८ जना रहेका छन ।
जिल्लामा जम्मा संक्रमितमा निको हुनेको दर २५ दशमलब ४२ प्रतिशत रहेको छ । संक्रमण निको हुने दर पुरुषको धेरै देखिएको छ । प्रतिशतमा हेर्दा महिलाको २२ प्रतिशत निको हुने दर रहेको छ भने पुरुषको २७ दशमलब ६५ प्रतिशत रहेको छ । कोरोना निको हुनेमा ८ दिनको बच्चादेखि १०० वर्षकी आमा समेत रहेका छन ।
यस्तै जिल्लामा बुधबार ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ सय ६६ जनाको रिपोर्ट आएकोमा ४९ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । यो सँगै कोरोना संक्रमित हुनेको संख्या १ हजार ८ सय ४१ पुगेको छ ।
संक्रमित हुनेमा महिला भन्दा पुरुष बढी देखिएका छन । महिला ७ सय २७ र पुरुष १ हजार १ सय १४ जना संक्रमित भएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहले बताए । उनका अनुसार यो तथ्यांकलाई विश्लेषण गर्दा संक्रमित हुने प्रतिशत महिलाको ३९ दशमलब ४९ रहेको छ भने पुरुषको प्रतिशत ६० दशमलब ५१ प्रतिशत रहेको छ ।
यस्तै जिल्लामा २८ जनाको उपचारका क्रममा मृत्यु भएको छ । होम आइसोलेसनमा नै उपचार गराउने धेरै छन । १३ सय २६ जना होम आइसोलेसनमा उपचार गराईरहेका छन भने १९ जना संस्थागत आइसोलेसनमा उपचार गराईरहेका छन ।




















