सिन्धुली । लैंगिक हिंसामा परेका व्यक्तिहरुलाई राहत वितरण गरिएको छ । स्थानीय तहको समन्वयमा जिल्लाका ५२ जना हिंसा प्रभावितलाई राहत वितरण गरिएको हो ।
स्टोरिज अफ नेपालले छ वटा स्थानीय तहमा रहेका हिंसाबाट प्रभावित महिलालाई सम्बन्धित स्थानीय तहहरु र आपेरोनद्धारा सिन्धुलीमा सञ्चालित सेफ हाउसको समन्वयमा राहत वितरण गरेको जनाएको छ ।
कमलामाई नगरपालिकाका २२ जना, दुधौली नगरपालिकाका १३ जना, तिनपाटन गाउँपालिकाका ५, मरिण गाउँपालिकाका ५ र गोलञ्जोर गाउँपालिकाका १ जना हिंसा प्रभावितलाई राहत वितरण गरिएको समन्वय गर्दै आएकी सेफ हाउसका सञ्चालक गिता देवकोटाले बताईन ।
पचास जना महिलालाई प्रतिव्यक्ति चामल २५ किलो, तेल ३ लिटर, दाल ३ किलो, नुन ३ किलो, सावुन कपडा धुने ४ पिस, नुहाउने सावुन ३ पिस, मास्क १ प्याकेट र सेनिटाईजर १ बट्टा राहत स्वरुप उपलब्ध गराईएको उनले बताईन । दुई जना महिलालाई उपचारका लागी प्रतिव्यक्ति १० हजार नगद सहयोग गरिएको छ ।
लैंगिक हिंसामा परेका व्यक्ति कोरोना महामारी र लकडाउनका कारण थप समस्या परेकाले उनीहरुलाई राहत वितरण गरिएको देवकोटाले बताईन ।





















